बुद्धिमान ओली, रोल्पा, १४ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रोल्पाको सहयोगकै कारण देशभर माओवादी शक्ति सञ्चार गर्न पाएको बताउनुभएको छ । स्थानीय तह निर्वाचनलाइ लक्षित गर्दै आज रोल्पाको सदरमुकाम लिवाङ पुग्नुभएका अध्यक्ष प्रचण्डले रोल्पाली जनताले जनयुद्धमा गरेको योगदान जस्तै अब फेरी अर्को उर्जा लिन रोल्पा आएको बताउनुभयो ।
अध्यक्ष प्रचण्डले पछिल्लो समय रोल्पा आउन नसकिएको प्रति दुख लागेको बताउदै केन्द्रमा नै रहेपनि रोल्पाप्रतिको चासो उत्तिकै रहेको बताउनुभएको थियो । त्यसअघि रोल्पा नगरपालिकाको सातदोबाटोमा निर्मित भ्युटावरको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले रोल्पामा पुनः बिगतकै उर्जा प्रदान हुने र आउदो चुनावमा रोल्पाका सबै स्थानीय तहमा जित हासिल हुने गरी काम गर्न पार्टी पंक्तिलाइ आग्रह गर्नुभएको थियो ।
जनयुद्ध कालमा लामो समय रोल्पामा बिताएको स्मरण गर्दै उहाँले संघर्षकै बलमा स्थापित सङ्घीयतामा माओवादी केन्द्र पार्टीको मुख्य एजेन्डा बल्ल अहिले अन्य दलले स्वीकारेको प्रति रोल्पाको उपलब्धि भएको बताउनुभएको थियो ।
माओवादी पार्टीले हार्दा सङ्घीयता खतरा हुने बताउदै त्यो कुरा हाल आएर देशैभर बोध गराउन प्रदेश स्तरीय प्रशिक्षण सकेको र त्यसलगत्तै रोल्पा आएको बताउनुभएको थियो ।