सजना तिमल्सिना, काठमाडौँ, १३ चैत । कोरोना महामारीका कारण रोकिएको मेलामहोत्सव २ वर्षपछि सुरू हुन थालेको छ । यसबाट कलाकारहरूले काम पाउन थालेका छन्, मेला महोत्सब आयोजना गर्नेहरूको आम्दानी बढेको छ भने दर्शक, स्रोताहरूले आफ्ना मनपरेका कलाकारमार्फत गीत सुनेर मनोरञ्जन लिन पाएका छन् ।
पछिल्लो समयकी व्यस्त गायिका रचना रिमाल हिजोआज स्टुडियोमा मात्रै होइन, मेलामहोत्सवका मञ्चमा पनि देखिन थाल्नु भएको छ । गीत गाउनको लागि दिनदिनै अलगअलग जिल्लाबाट निम्तो आइरहन्छ । कहिलेकाँही त एकै दिन दुई स्थानमा पुगेर गाएको अनुभव पनि उहाँसँग छ । अस्ति १५ औँ सुदूरपश्चिम महोत्सवमा गाउन पुग्नु भएका रिमाल हिजो गण्डकी प्रदेशको दमौलीमा आठौं तनहुँ महोत्सवमा पुग्नुभयो । रिमालको योजना केही दिनमा प्रदेश १ मा आयोजना हुने महोत्सबमा पुग्ने तालिका छ ।
कोरोनाको कारण २ वर्ष मेला महोत्सव रोकिए । जसका कारण न कलाकारले गाउन पाए, न दर्शक स्रोताले मनोरञ्जन लिन । तर अहिले स्टेज कार्यक्रम सुरू भएपछि कलाकारको व्यस्तता पनि बढेको गायिका एलिना चौहान बताउनुहुन्छ ।
उद्योग वाणिज्य सङ्घको आयोजनामा हाल देशभरि सानाठूला गरी लगभग ७ वटा मेला महोत्स भइरहेका छन् । यी कार्यक्रममा ठाउँ र आकार हेरेर रकम खर्च हुन्छ । कलाकारले पनि स्थान र समय हेरेर पारिश्रमिक लिने गरेका छन् । दर्शकहरू टिकट काटेर कलाकार हेर्न पुग्ने गरेका छन् ।
कलाकारहरू कोरोना महामारीको प्रभावका कारण धेरै पछि गीत गाउन हिड्न पाउँदा खुसी छन् । आम्दानी कोरोना अघिको जस्तो छैन, तर सन्तोषजनक रहेको गायक हेमन्त शर्माले बताउनुभयो ।
एउटा चल्तिको गायक गायिकाले एउटा कार्यक्रममा सामान्यतया कम्तिमा ५० हजार देखिको पारिश्रमिक लिने गरेका छन् । एउटा महोत्सबमा एक दिनमा स्थानीय र बाहिरबाट लगिएको गरी ५ देखि ७ जनासम्मले गीत गाउने तथा नाच्ने गरेका छन् । सबाट दैनिक २५ देखि ३० जना कलाकारहरू साङ्गितिक कार्यक्रममा व्यस्त हुने गरेका छन् ।