सजना तिमल्सिना, काठमाडौँ, २३ फागुन । आँखाको नानी प्रत्यारोपण नेपालमा ९५ दशमलव ६ प्रतिशत सफल भएको पाइएको छ । नेपालमा आँखाको नानी प्रत्यारोपण हुन थालेको २७ वर्ष भएको छ । जन्मजात वा अरु कुनै कारण दृष्टि गुमाएकाहरूका लागि नानी दान वरदान बनेको छ ।
जन्मँदै दुवै आँखाको दृष्टि नभएका स्याङ्जाका सविन बोगटीले ११ वर्षको उमेरमा २०६३ सालमा दाहिने आँखाको नानी प्रत्यारोपण गराएपछि बाहिरी संसार हेर्न पाएको बताउनुभयो ।
नेपालमा अहिलेसम्म १६ हजार ६ सय ४३ जनालाई आँखाको नानी प्रत्यारोपण गरिएको छ । मृत्युपछि खेर जाने आँखाको नानी दान गरे अरुलाई सहयोग हुने दृष्टि पाएकाहरू बताउँछन् ।
काठमाडौँको तिलगङ्गा आँखा प्रतिष्ठानमा रहेको आँखा बैङ्कका प्रबन्धक शङ्खनारायण त्वायनाले आँखाको नानी प्रत्यारोपण गरेकाहरूमा कुनैपनि समस्या नरहेको बताउनुभयो ।
दान गरिएको नानी प्रत्यारोपण गर्नुअघि स्वस्थ भएनभएको जाँचेर यकिन गरिन्छ । जन्मजात वा जन्मपछि दृष्टि गुमाउनेहरूका लागि सरकारी तथा गैरसरकारी गरी १ दर्जनभन्दा बढी आँखा अस्पतालमा हुने नानी प्रत्यारोपणले नयाँ जीवन पाएको अनुभूत गराएको छ । तर आँखामा जथाभावी औषधिको प्रयोग गर्नेहरू बढेकै कारण बर्सेनि नानी प्रत्यारोपण गराउनुपर्ने व्यक्तिको सङ्ख्या पनि बढीरहेको छ ।
लापरवाहीका कारण वर्षमा ७ हजारभन्दा धेरैले दृष्टि गुमाउने गरेको चिकित्सकहरू बताउँछन् ।