सर्लाही, २२ फागुन । सर्लाहीको बागमतीमा निर्माण भएको दक्षिण यसिया कै ठूलो मानव निर्मित भरत तालको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अवलोकन भ्रमण गरेको छ । मधेश प्रदेशको जनकपुर र गण्डकी प्रदेशको पोखरा सिधा हवाई उड्यानको शुभारम्भको अवसरमा मधेश प्रदेश आउनु भएका मुख्यमन्त्री पोखरेलले आइतवार भरत तालको अवलोकन भ्रमण गरेको हो ।
१८ सदस्यीय टोलीको नेतृत्व गर्दै मुख्यमन्त्री पोखरेलको भ्रमण टोलीले बागमतीको बागमतीको भरत तालको अवलोकन भ्रमण गरेको बागमती नगरपालिकाका नगर प्रमुख भरतकुमार थापाले जानकारी दिए।
मधेश प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शत्रुधन महतोले मुख्यमन्त्री पोख्रेलको भ्रमण टोलीको नेतृत्व गरेको थियो । गण्डकी प्रदेशका मुख्यमन्त्री पोख्रेलको निमन्त्रणामा केही समय पहिला मात्र मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गण्डकी प्रदेश भ्रमणमा पुगेको उहाँका प्रेस संयोजक आतिश मिश्रले जानकारी दिए। उनका अनुसार सोही समयमा मुख्यमन्त्री राउतले मधेश प्रदेश भ्रमणको निम्ता दिएको थियो ।
सोही आतिथ्यता स्वीकार गर्दै आफू मधेश प्रदेश भ्रमणमा आएको मुख्यमन्त्री पोख्रेलले बताए । मुख्यमन्त्री पोख्रेलको टोलीले भरत तालमा रहेको मिनी क्रुजमा केही समय सयर गरेको थियो । सोही क्रममा मुख्यमन्त्री पोख्रेलले तालको निर्माणको अवस्था यसको भावी योजना, तालले भविष्यमा यस क्षेत्रको नागरिक र नगरको आर्थिक, सामाजिक, भौतिक विकासमा खेल्ने भूमिकाको विषयमा समेत जानकारी लिएको बागमती नगरपालिकाकी उप प्रमुख लिला कुमारी मोक्तानले जानकारी दिए। ताल भ्रमणपछि मुख्यमन्त्री पोख्रेलले संघीयतालाई मजबुत बनाउन प्रदेशको पहिचान र हैसियत देखिनु पर्छ भन्ने कुरामा आफु विश्वस्त रहेको बताए।
यसको लागि अन्तर प्रदेशीय सरकारहरूको सद्भाव यात्रा जरुरी रहेको ठानेर मधेश प्रदेशका सरकार प्रमुखलाई आफ्नो प्रदेश भ्रमण गराएको उनको भनाइ छ । सोही अभियानअन्तर्गत आफु मधेश प्रदेश आइपुगेको पनि उनले बताए।
यस्तै जनकपुर–पोखरा सिधा हवाई उडानले दुवै प्रदेशको पर्यटन प्रवर्द्धनमा ठूलो भूमिका खेल्ने उनको भनाइ छ । जनकपुरधाम ऐतिहासिक पवित्र धार्मिक तीर्थस्थल र पोखरा जस्तो पर्यटकीय स्थललाई हवाई मार्गमा जोड्ने बित्तिकै दुवै स्थानमा आएका पर्यटकले सजिलै पोखरा र जनकपुरधामको भ्रमण गर्न सक्ने उहाँले विश्वास व्यक्त गरे ।
शनिबारबाट सुरु भएको पोखरा–जनकपुर सिधा हवाई उडान मार्फत जनकपुर उत्रिएका मुख्यमन्त्री पोख्रेलले मधेशका सरकार र जनताको स्वागत अत्यन्त अविस्मरणीय रहेको बताए । मुख्यमन्त्री पोख्रेल मधेश प्रदेशका विभिन्न धार्मिक एवम ऐतिहासिक स्थलहरूको भ्रमण गर्दै सर्लाही आइपुगेका थियो । मुख्यमन्त्री पोख्रेलको टोली रौतहटको नुनथर क्षेत्रको अवलोकन भ्रमणपछि पर्सा राष्ट्रिय निकुञ्जका लागि प्रस्थान गरेको छ ।