उषा तामाङ, काठमाडौँ, २० फागुन । डढेलो लाग्ने मौसम सुरु भइसकेको अवस्थामा पुर्वतयारीका काम भइरहेको सरकारले दाबी गरेको छ । विशेषगरि फागुन महिनादेखि जेठ महिनासम्म वनमा लाग्ने डढेलोका कारण वर्षेनि जनधनको क्षति हुनेगरेकाले डढेलोका घटनालाई न्यूनीकरण गर्न पुर्वतयारी भइरहेको सरकारले बताएको छ ।
सामुदायीक वन उपभोक्ता महासङ्घका अध्यक्ष भारती पाठकले वनमा लागेको डढेलो स्याउलाको भरमा निभाउनुपर्ने स्थिती रहेको भन्दै तालिम र प्रविधिको व्यवस्था सरकारले गर्नुपर्ने बताउनुभयो । उहाँले चैत लागेपछि मात्रै सरकार तयारी गर्न लागिपर्ने र त्यस्ता तयारी पनि औपचारिकतामा सिमित हुँदा वन डढेलो न्यूनीकरण हुन नसकेको बताउनुभयो ।
डढेलो लाग्ने समय आउँदै गर्दा केही प्रदेश सरकारले पुर्वतयारीका कार्यक्रम अघि सारेका छन् । सबैभन्दा बढि १० लाख ९० हजार ८ सय ८० हेक्टरबन क्षेत्र रहेको बागमती प्रदेशमा, बल्ल डढेलो न्यूनीकरण योजना बनाउने क्रम सुरु भएको छ । वन तथा वातावरण मन्त्री विशाल खड्काले पारिश्रमिककै व्यवस्था गरेर डढेलो न्यूनीकरण गर्न जनशक्ति परिचालन गर्ने काम भइरहेको बताउनुभयो ।
त्यसैगरि सुदुरपश्चिम प्रदेशका कैलाली, कन्चनपुर, डोटी, डडेलधुरा लगायत जिल्लाका वन क्षेत्रमा बढि डढेलो लाग्ने गरेको छ । वन डढेलो न्यूनीकरण गर्न तालिम सहित आगो निभाउन आवश्यक सामग्री दिने तयारी उद्योग पर्यटन तथा वन मन्त्रालयले गरेको मन्त्री मान बहादुर धामीले बताउनुभयो ।
गत वर्ष डढेलो रोकथाम र नियन्त्रणका लागि ५ करोड ७४ लाख बजेट सरकारले विनियोजन गरेको थियो । डढेलो न्यूनीकरणका लागि सामुदायीक वन उपभोक्ता समुह सहित डिभिजन वन कार्यालय र सम्बन्धित सरोकारवाला सँग छलफल समन्वय र निर्देशन दिने काम भइरहेको वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवले बताउनुभयो ।
विगत ३० वर्षको अवधिमा वन क्षेत्र ५ प्रतिशतले वृद्धि हुँदै अहिले ४४.७४ प्रतिशत वन क्षेत्र छ । गएको वर्ष मात्रै देशका विभिन्न स्थानका करिव ४ हजार ५ सय वनमा डढेलो लागेको थियो ।