काठमाडौँ, १२ फागुन । कलाकार पल शाह (पूर्णविक्रम शाह) लाई जबर्जस्ती करणीको आरोप लागेको छ । १७ वर्षीया किशोरीले म्युजिक भिडियो छायांकनका क्रममा आफूसँग नजिक भएका शाहले बारम्बार जबर्जस्ती करणी र यौन दुर्व्यवहार गरेको भन्दै बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएकी छन् । प्रहरीले शाहलाई पक्राउ गर्न आन्तरिक सर्कुलर गरिसकेको छ ।
जाहेरीमा शाहले गत चैत ३१ मा बागलुङको गलकोटमा आयोजित महोत्सवबाट फर्किने क्रममा गाडीमा यौन दुर्व्यवहार गरेको र गत वैशाख १४ गते पोखराबाट काठमाडौं फर्किने क्रममा तनहुँमा बास बसेका बेला जबर्जस्ती करणी गरेको उल्लेख छ । त्यस्तै, छायांकनका क्रममा गत वर्ष पुस १० मा पोखरामा र चैत ७ मा चितवनमा जबर्जस्ती करणी गरेको जाहेरीमा भनिएको छ ।
मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १८ मा करणीसम्बन्धी कसुरको दफा २१९ (२) मा कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबर्जस्ती करणी गरेको मानिने उल्लेख छ । पीडितले एक महिनाअघि शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिने प्रयास गरेकी थिइन् । तर, वारदातको स्थान फरक जिल्ला भएको र सोही जिल्लाको क्षेत्राधिकारको विषय बताइएपछि पीडित परिवार जाहेरी दिन तनहुँ पुगेको थियो । त्यति बेला पीडित प्रहरीकामा पुगेको सूचना पाएपछि शाहनिकट केहीले सहमति खोज्ने भन्दै पीडित परिवारलाई जाहेरी दिन निरुत्साहित गरेका थिए ।
शाहविरुद्ध प्रहरीमा जाहेरी दर्ता हुनु केही समय अघिदेखि नै उनीमाथि लागेको आरोपबारे फिल्म क्षेत्रका केही व्यक्ति जानकार देखिन्थे । तर, दुई व्यक्तिबीचको सहमति वा विवादको विषय मात्रै बनाएर नाबालिकमाथि भएको जबर्जस्ती करणी र यौन हिंसाजस्तो गम्भीर विषयलाई अनुसन्धानको दायराबाहिरै राखेर सल्टाउने प्रयास भएको थियो । आजको कान्तिपुरमा समाचार छ ।