काठमाण्डौ, ८ फागुन । अमेरिकी सहयोग परियोजना एमसीसीको बारेमा सहमति जुटे आजै संसद बैठकमा टेबल गर्ने तयारी सरकारले गरेको छ । संसद बैठक दिउँसो १ बजेका लागि बोलाइएको भए पनि सङ्घीय संसद सचिवालयले निकालेको सम्भावित कार्यसूचीमा एमसीसी टेबल गर्ने उल्लेख छैन ।
बिहान साढे ११ बजे बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकपछि कार्यसूचीलाई अन्तिम रूप दिने तयारी सभामुख अग्निप्रसाद सापकोटाले गर्नुभएको छ । कार्यव्यवस्था परामर्श समितिको बैठकअघि सरकारमा रहेका दलहरूको बैठक बिहान १० बजे बालुवाटारमा बस्दैछ । सरकारमा रहेको एकीकृत समाजवादी पार्टीले यथास्थितिमा एमसीसी पारित गर्न नसकिने निर्णय हिजो गरेको छ ।
स्थायी कमिटीको बैठकले एमसीसीको बारेमा संसदमा छलफल गर्न सकिए पनि पारित गर्न नसकिने निर्णय गरेको नेता प्रकाश ज्वालाले सीआईएनसँग बताउनुभयो । सरकारको नेतृत्व गरिरहेको नेपाली काँग्रेसले भने चाँडै एमसीसी परियोजना पारित गर्नुपर्ने बताउँदै आएको छ । काँग्रेस नेता डा.शेखर कोइरालाले सत्तामा रहेका दलहरूले गम्भीर भएर निर्णय लिनुपर्ने बताउनुभयो ।
माओवादी केन्द्रले यदि एमसीसी संसदमा पेश गरिएको खण्डमा विपक्षमा उभिने तथा सरकार छोड्ने यसअघि नै बताइसकेको छ ।