काठमाण्डौ, ६ फागुन । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोट ‘ए’ को पहिलो खेलमा नेपालले आज घरेलु टोली ओमानसँग खेल्दै छ । विश्वकपमा छनोट हुने लक्ष्यसहित ओमान पुगेको नेपालले अल अमेरात क्रिकेट मैदानमा घरेलु टोलीको सामना गर्न लागेको हो ।
नेपाल र ओमानबीचको खेल बिहान ११ः४५ मा सुरु हुनेछ । छनोटको समूह ‘ए’ मा रहेको नेपाल घरेलु टोलीलाई हराउँदै छनोटमा सुखद सुरुआत गर्न चाहन्छ ।गत हप्ता चारदेशीय टी–ट्वान्टी सिरिजमा नेपालले ओमानलाई ६ विकेटले हराएको थियो। जसको कारण पनि नेपाल उच्च मनोबलमा रहेको छ । तर, नेपाललाई घरेलु टोलीविरुद्ध जित निकाल्न सहज भने छैन ।
ओमान पनि नेपाललाई हराएर सुखद सुरुआतको योजनामा रहेको छ ।समूह चरणको खेलपछि शीर्ष दुई टोली दुबै समूहबाट सेमिफाइनलमा प्रवेश गर्नेछन् ।