सुसीला श्रेष्ठ, काठमाडौं, ५ फागुन । २०६९ फागुन ६ गते बसेको मन्त्रिपरिषद् बैठकले पारित गरेको अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिकामा सडक र सडकपेटी अपाङ्गतामैत्री बनाउने उल्लेख छ । सरकारले अबलम्बन गरेको नीति र निर्देशिका एकातिर छ, तर अपाङ्गता भएका नागरिकले हिड्ने बाटो पनि सहज छैन ।
२०७२ सालको भुकम्पले २ वटा घर गुमाउनु भएका नुवाकोटका आईतराम तामाङले त्यहि साल आगलागीमा परि दुईवटा खुट्टा समेत गुमाउनु भयो । घर र खुट्टा गुमाउदाको पिडा त एकातिर छदैछ, उपचारका शिलशिलामा काठमाडौं आउदा जाँदा गाडीको ठक्कर दिन्छ कि भन्ने पिर छ ।
सुर्खेतका भरत बहादुर कार्कीले सडक दुर्घटनामा खुट्टा गुमाउनु भयो । उहाँ ह्वील चियरको साहरामा हिड्नुहुन्छ । काठमाडौंका सडक र सडकपेटी अपाङ्ग मैत्री नहुँदा काममा आउन जान निकै मुस्किल हुने गरेको उहाँ बताउँनुहुन्छ ।
हाल देशभर कुल जनसङ्ख्याको ११ प्रतिशत अपाङ्गता भएका व्यक्ति छन् । सङ्घीय राजधानीका केहि सडक पेटीमा ‘ट्याकटाइल’ अर्थात दृष्टिबिहिन नागरिकलाइ हिड्न सजिलो हुने गरि बनाईएको मार्ग छ । तर पूर्ण अपाङ्गमैत्री छैन । काठमाडौं बाहेकका अन्य शहर बजारका सडक र सडकपेटी पनि अपाङ्गमैत्री नभएको राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालका अध्यक्ष मित्रलाल शर्माको भनाइ छ ।
अपाङ्गतामैत्री फुटपाथ नभएको भन्दै ३ वर्ष अघि काठमाडौंको जोरपाटीस्थित सडकपेटी अपाङ्गता भएका व्यक्तिहरुले भत्काएका थिए। बेलाबखतमा छलफल र भाषणमा अपाङ्गमैत्री सडक संरचनाको बहस हुने गरेको भएपनि व्यवहारमा लागू भएको छैन । देशभरका सडकलाइ अपाङ्गमैत्री बनाउने योजनाअनुसार अघि बढिरहेको सडक विभागले दाबी गरेको छ ।
पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिकामा सडक मात्रै होईन पार्किङस्थल, मनोरञ्जनस्थल, खेलमैदान, सम्मेलन केन्द्र, सिनेमा हल, व्यावसायिक भवन, होटल–रेष्टुरेण्टदेखि बैंक सम्मलाइ अपाङ्गतामैत्री बनाउनुपर्ने उल्लेख छ । तर हाल सम्म सडक मात्रै पनि अपाङ्गमैत्री बन्न सकेको छैन ।