ईश्वर साउँद, कैलाली, १९ माघ । सिमसार आर्थात् जमिल रसिलो भएको ठाउँ । जैविक विविधताको क्षेत्रमा काम गर्नेहरुका अनुसार, सिमसार त्यस्तो ठाउँ हो, जहाँ जमिन लुक्दैन, पानी सुक्दैन । पानी र जमिन सिमसारका दुई प्रमुख विशेषता हुन् । मानिसहरूको बसोबास त्यस्ता ठाउँहरूबाट सुरु भएको पाइन्छ, जहाँ सिमसार रहेको छ । सिमसार जीवनका लागि महत्वपूर्ण छ ।
नेपालका आदिवासी जनजातिहरूमध्ये करिब १० प्रतिशत सिमसारमा आश्रित छन् । तर पछिल्ला वर्षहरुमा सिमसारको संरक्षण चुनौतिपूर्ण बन्दै गएको छ । कैलालीको सिमसार क्षेत्रका मानिसहरु विभिन्न समूह उपसमूह बनाएर यसको संरक्षणमा जुटिरहेका घोडाघोडी क्षेत्र संरक्षण तथा जनजागरण मञ्च नेपालका अध्यक्ष हेम बमको भनाइ छ ।
कैलालीको मध्यवर्ती क्षेत्रमा रहेको घोडाघोडी ताल र त्यसको वरपर सिमसार क्षेत्र बढी रहेको छ । रामसारमा सूचीकृत घोडाघोडी ताल र त्यस वरपरको सिमसार क्षेत्र संरक्षणमा स्थानीय सामुदायिक वनहरु पनि जुटेका छन् । स्थानीय त्रिवेणी सामुदायिक वनका अध्यक्ष भिममाया तामाङ सरकारी स्तरबाट सिमसारको संरक्षणमा अपेक्षा अनुसार सहयोग नभएको गुनासो गर्नुहुन्छ । स्थानीय सरकारले यो क्षेत्र संरक्षणको लागि घोडाघोडी पर्यटन बोर्ड समेत स्थापना गरेको छ ।
त्यसले सिमसार क्षेत्रको संरक्षणमा काम गरिरहेको तर संघिय सरकारबाट कुनैपनि सहयोग नभएको बताउनुहुन्छ, घोडाघोडी पर्यटन वोर्डका उपाध्यक्ष दयाराम चौधरी । १० हजार, ६ सय ७० हेक्टर क्षेत्रफलमा फैलिएको घोडाघोडी सिमसार क्षेत्रमा २४ ओटा ताल र १ सय ४७ हेक्टर क्षेत्रफलमा पानी रहेको छ ।
त्यो क्षेत्रको विकासका लागि स्थानीय सरकारले काम गरिरहेको घोडाघोडी नगरपालिकाका प्रमुख ममता प्रसाद चौधरीले बताउनुभयो । कैलाली जिल्ला पनि नेपालको बढी सिमसार क्षेत्र भएको जिल्लामा पर्दछ । कैलालीको बसन्ता, कर्णाली र मोहना जैविक मार्गभित्रका विभिन्न ठाउँहरु ठूला सिमसार क्षेत्रमा पर्दछन् । सिमसार अर्थात् मानव जीवनको आधार, यसको संरक्षणमा स्थानीयबासी जसरी जुटेका छन्, राज्यले पनि त्यही हिसाबले सहयोग गर्नुपर्छ ।