आँबुखैरेनी, ९ मंसिर । कोभिड १९ को प्रभावका कारण हरेक वर्ष हरिबोधनी ठुली एकादशीका दिन लाग्ने तनहुँ आँबुखैरेनी १ को आधिमुल मेला र आँबुखैरेनी ६ प्युघरफाँटको देविथान मेला स्थगित भएको छ। मेला सञ्चालन नगर्न, भिडभाड नगर्न तनहुँको आँबुखैरेनी गाउँपालिकाले सूचना जारि गरेरै निर्देशन दिएपछि मेला स्थगित भएको हो।
गाउँपालिकाले मंसिर ५ गते बसेको गाउँ कार्यपालिका बैठकले निर्णय गरेको भन्दै सोमबार एक सूचना जारी गरेर मेला स्थगित गर्न निर्देशन दिएको थियो। यसैले यस वर्ष हरिबोधनी ठुली एकादशीका दिन लाग्ने आधिमुल मेला र देविथान मेला स्थगित भएको आयोजकहरुले जानकारी दिएका छन्।
यस्तै मुग्लिन पारि गोरखाको शहिद लखन गाउँपालिका वडा नं. ३ मा रहेको त्रिवेणी भगवती माईको मन्दिरमा हरिबोधनी ठुली एकादशीकै दिन लाग्ने मेला पनि स्थगित भएको आयोजक कालिका युवा क्लव निभारेका सचिव पृथ्वी गुरुङले जानकारि दिनुभयो। कोभिड १९ कै कारण यस वर्ष मेला आयोजना स्थगित गरिएको उहाँले बताउनुभयो।
यद्यपी मन्दिरहरुमा स्वास्थ्य सावधानी अपनाएर पुजा अर्चना भने हुनेछ।