काठमाण्डौ, १८ माघ । नेपाली राष्ट्रिय फुटबल टिमले आज अफ्रिकी राष्ट्र मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने नेपाल र मरिससबीचको खेल साँझ ४ः४५ मा सुरु हुनेछ ।
घरेलु टोली नेपाल मरिससविरुद्ध लगातार दोस्रो जितको खोजीमा मैदान उत्रने छ । यसअघि शनिवार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले मरिससलाई १–० गोल अन्तरले पराजित गर्दै जित हात पारेको थियो । मरिसस पनि आजको खेलमा जित निकाल्न चाहन्छ । मरिसस विरुद्धको दोस्रो खेलका लागि नेपाली टोलीमा दुई खेलाडी परिवर्तन भएका छन् ।
मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले दुई खेलाडी परिवर्तन गर्दै टिम घोषणा गर्नुभएको छ । प्रशिक्षक अब्दुल्लाहले यसअघि घोषणा गर्नुभएको टिमबाट डिफेन्डर अनन्त तामाङ र प्रशान्त अवस्थी बाहिरिएका छन् । तामाङ र अवस्थीको स्थानमा मनिष डाँगी र दर्शन गुरुङलाई राखिएको छ ।