कैलाली, २७ कार्तिक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले माओवादी केन्द्रसँग एकता हुन सक्ने तर्फ संकेत गरेका छन् । धनगढीमा आयोजित दलित मुक्ति मोर्चाको पाँचौ राष्ट्रिय सम्मेलनलाई सम्बाेधन गर्दै उनले आफूहरू एकता गर्ने तर जनतालाई अल्मल्याउने, झुक्याउने, पैसा र पदको प्रलोभन छोडेर जनताका पक्षमा पार्टी लाग्नुपर्ने तर्क गरेका छन्।
उनले आफ्नो पार्टीसँग हतियार नभएको बताए । अहिले चौतर्फी रूपमा विप्लवसँग हतियार छ भन्ने आवाज उठ्न थालेको बताउँदै उनले आफ्नो पार्टीसँग कुनै हतियार नभएको बताए ।
‘सरकारले आफ्नो पार्टीमाथि प्रतिबन्ध लगाउँदा कुनै चौकीमाथि हामीले आक्रमण गरेनौं,’ उनले भने, ‘न विदेशीसँग सहयोग माग्यौं । अनि कसरी हतियार हुन्छ । बिना प्रमाण किन आरोप लगाइँदै छ ?’
सरकारसँग वार्ता गरे पनि यो संविधान भने आफ्नो पार्टीले नमान्ने उनले बताए । वार्तामा संविधान मान्नुपर्छ भन्ने सहमति नभएको बताउँदै उनले आफूहरूको एजेण्डा जनमत संग्रह भएको बताए ।
‘संसदीय व्यवस्था पूर्ण रूपमा असफल भइसक्यो,’ उनले भने,‘यस्तो व्यवस्था मानेर कुर्सीमा बस्न यो पार्टी जन्मेको होइन । हाम्रो माग जनमत संग्रह गर्ने हो । त्यसैका लागि हामी संघर्ष गर्ने छौं ।’