Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

पार्टीले पत्याएर मलाई फेरी अवसर दियो भने नगर प्रमुखको उम्मेदवार उठ्छु र जित्छुः लालबन्दी नगरपालिका प्रमुख खड्का

पार्टीले पत्याएर मलाई फेरी अवसर दियो भने नगर प्रमुखको उम्मेदवार उठ्छु र जित्छुः लालबन्दी नगरपालिका प्रमुख खड्का

एसपी गौरब

२३, कार्तिक २०७८
पार्टीले पत्याएर मलाई फेरी अवसर दियो भने नगर प्रमुखको उम्मेदवार उठ्छु र जित्छुः लालबन्दी नगरपालिका प्रमुख खड्का

संघिय नेपालका पहिला जनप्रतिनिधिहरुसंग नागरिकहरुको आशा भन्दा धेरै चुनौतीहरु रहेका छन् । एकातिर नागरिकहरुको आशा अर्कोतिर संघिय नेपालका पहिला जनप्रतिनिधिहरुलाई कार्य व्यवस्थापनमा चुनौतीहरु सँग जुध्दै समाधान गर्दै अगाडी बढेको करिब ४ वर्ष पुग्दै गर्दा नगरको विकास के कस्तो रह्यो भन्ने विषयमा लालबन्दी नगरपालिकाका प्रमुख मान बहादुर खड्कासंग गरिएको इच्छाकामना न्युजका प्रदेश नं. २ प्रतिनिधि एसपी गौरवले कुराकानी गरेका छन्। प्रस्तुत छ सो कुराकानीको सम्पादीत अंशः

images

shank.png

नगर प्रमुख ज्यु,चालु आवको बजेट निर्वाचन मुखी र कार्यकर्ता मुखी ल्याउनु भएको हो ? 
मेरो नगरपालिकामा त्यस्तो नरहेको र निर्वाचन मुखी बजेट बनाउने सोचमा पनि आफुहरु रहेनौँ । नगरका सबै १७ वटै वडाहरुमा विकास निर्माणको काम धामासाही भई रहेको छ । विकास बजेट समानुपातिक र सन्तुलीत छ । हुन त विकास निर्माण भन्ने वितिकै निर्वाचन मुखी हो भन्ने गरिन्छ । तर हामीले पुर्वाधार,शिक्षा र  स्वास्थ्य तर्फ बजेट खर्च गरेका छौँ ।

चालु आवको बजेटको प्राथमिकता कुन क्षेत्रमा लक्षीत छ ?
निरन्तर कार्यक्रम छन् । नगरको कुल बजेको ५० प्रतिशत रकम वडाको जनसंख्या र भौगोलिक बनावटलाई आधारमा मानेर शिक्षा,स्वास्थ्य,कृषि र सडकहरु लगायतका काममा खचिर्ने गरेका छौँ । भने ५० प्रतिशत नगरपालिकाले आफैँले चलाउने गरेको छ । नगर आफैँले चलाउने बजेट रु ५० लाखलाई सय प्रतिशत मानेर ४० प्रतिशत नगरको विकास समृद्धिको लागि नगरको आन्तरीक स्रोत विकासमा लगाउने गरेका छौँ । र बाँकी रहेको ६० प्रतिशत रकम  शिक्षा,स्वास्थ्य,कृषि र सडकहरु लगायतका काममा लगानी गर्ने गरेका छौँ । 

यो ४ वर्षमा नागरिकहरुले प्रत्यक्ष महसुस गर्ने खालका विकास निर्माणहरु के–के भए ?
मान्छेको हेराई दुईवटा हुन्छ । कसैले राजनैतिक आग्रह पुर्वाग्रहबाट हेर्दा विकास नै भएन् भन्छन् । तर हामीले नागरिकलाई अनुभूति हुने खालका काम गरेका छौँ । स्वास्थ्य,शिक्षा,पुर्वाधार र अन्य निर्माणका क्षेत्रमा नगरपालिकाले बजेट खर्च गरि रहेको छ । सबै जनप्रतिनिधिहरुको ध्यानपनि आफ्नो वडा तथा नगरको विकासमा नै पुगेको छ ।

सडक पुर्वाधार विकासको काममा नगरले कति बजेट व्यवस्था गरेको छ ?
प्रदेश २ कै कर्णाली भनेर चिनिने लालबन्दी नगरपालिका १४ नारायणखोलामा धुलेँबाटो निर्माणको क्रममा छ भने त्यहाँ अबको ६ महिना भित्रमा धुलेबाटो भएपनि पुर्याउने गरि काम भई रहेको छ । अन्य वडाहरुमा अहिले कालोपत्रेले मुख्य सडक जोडिएको छ । नगरपालिकाले कुल बजेटको २५ प्रतिशत रकम सडक निर्माण तथा सडकको स्तरोउन्नतीका लागि खर्च भएको छ । 

शिक्षाको हब लालबन्दी नगरमा सामुदायिक विद्यालयहरुको शिक्षाको गुणस्तर सुधारमा के गर्नु भयो ?
लालबन्दीका विद्यालयहरुमा देशका २६ जिल्लाका बालबालिकाहरु अध्यायन गर्न आउने गरेका छन् ।  जस अनुसार संस्थागत विद्यालयहरुको संख्यामा पनि बृद्धि भएको छ भने सामुदायिक विद्यालयहरुमा अंग्रेजी माध्यामको शुरुवात भएको छ । सामुदायिक विद्यालयहरुमा प्राविधिक शिक्षाहरु शूरु गरिएको छ । अन्यन्त्रबाट बसाई सरेर आउने मानिसहरुको संख्या अत्याधिक रहेका कारण पनि विद्यालयहरुमा विद्यार्थीहरुको संख्या बढी रहेको देखिन्छ। पारिवारीक आर्थिक स्थिती अनुसार संस्थागत तथा सामुदायिक विद्यालयहरुमा आफ्ना बालबालिकाहरु पढाउने काम भएको छ । सिमित स्रोत साधन भएपनि हामी निर्वाचित भएर आएपछि शुरु भएको शिक्षाको गुणस्तरमा सुधार भएको छ । अहिलेको लालबन्दीको शिक्षा सर्प जस्तो घस्रेर नभई भ्यागुतो जस्तो उफ्रिएको छ । शिक्षाको लगानी गोलभेडा खेती गरे जस्तो होईन शिक्षाको  लगानीको नतिजा आउन १० वर्ष लाग्छ भने हामी निर्वाचित भएको जम्मा ४ वर्ष भएको छ ।

बसाई सरेर आएका मानिसहरुको रोजाई किन संस्थागत विद्यालय नै भएको हो ?  यो विषयमा तपाईहरुको ध्यान पुगेको छ ?
हाम्रो ध्यान पुगेको छ । नगरपालिका भित्र ५२ वटा विद्यालयहरु रहेका छन् । स्रोत साधनको अभाव,भौगोलिक बनावट लगायतका कारण शिक्षा क्षेत्रको सुधारमा सोचे अनुसार सुधार गर्न नसकेको भएपनि सन्तोषजनक सुधार गरेका छौँ । 
अब कुरो रह्यो बसाई सरेर आएका मानिसहरुको संस्थागत विद्यालय नै रोजाईको, यसमा के छभने बसाई सरेर आएका मानिसहरु आर्थिक रुपमा सवल नागरिकहरु आउने गरेका कारण पनि उनिहरुको रोजाई संस्थागत विद्यालय रहेको हो । तथापी पनि संस्थागत विद्यालयहरु थपिएका छैनन् । तर अपग्रेट चाहि भएको पाईएको छ ।

नगरको स्वास्थ्यको क्षेत्रमा के कस्ता सुधार र परिवर्तनहरु भए ?
हामीले हाम्रो नगरका १४ वटा वडामा आधारभूत स्वास्थ्य संस्था स्थापना गरेका छौँ । जिल्लाको उत्तरीभेगको एकमात्र र पहिलो २४ घण्टेँ अस्पताल लालबन्दीमा नै सञ्चालन भएको छ । जहाँ ४ जना एमविविएस डाक्टरहरुले सेवा दिई रहनु भएको छ भने छिमेकी स्थानिय निकायका मानिसहरु लालबन्दीमा रहेको स्वास्थ्य संस्थाबाट नै औषधोपचार सेवा पाई रहेका छन् । स्वस्थ्य बिमा कार्यक्रमको औषधी समेत लालबन्दीको प्राथमिक स्वस्थ्य केन्द्रले वितरण गरि रहेको छ । जिल्लाको  करिब ३० प्रतिशत नागरिकहरुले आफ्नो स्वास्थ्य संस्थाले सेवा दिई रहेको छ । कोरोनाको समयमा पनि आफुहरुले सबै सेवा सहित कोभिड अस्पताल सञ्चालन गरेका थियोैँ । 
नगरका तीनवटा वडाहरु प्राथमिक स्वास्थ्य केन्द्र रहेको वडा र संगै जोडिएका वडा भएका कारण पनि ती तीनवडाहरुमा नयाँ स्वास्थ्य संस्था स्थापना गर्ने सोच छैन ।

खानेपानीको क्षेत्रमा केके गतिविधिहरु भएका छन् ?
७ वटा गाविस मिलेर नगरपालिका बनेको र नगरका १७ वटा वडाहरु मध्य ११ वटा वडाहरुमा तेस्रो साना शहरी खानेपानी आयोजनाले खानेपानी वितरण गरि रहेको छ । भने अरु २ वटा वडाहरुमा पहिला नै खानेपानी पुगि सकेको थियो । बाँकी रहेका केही वडाहरुमा स्थानिय स्तरबाट नै खानेपानीको व्यावस्था भई रहेको छ ।

विद्युतीकरणको काम के भई रहेको छ ?
लालबन्दी नगरपालिकाका २ वटा वडाहरुमा ८० प्रतिशत क्षेत्रमा विद्युत पुगि सकेको छ भने अरु वडाहरुमा विद्युत सेवा पुर्ण रुपमा विस्तार भई सकेको छ । 

स्वरोजगार मुलक कामहरु के भएका छन् ?
देश संघिय संरचनामा गएपछि पुराना उद्योग कलकारखानाहरु धारासायी बनेका छन् । जसका कारण हामीलाई स्वारोजगारमुलक बनाउन चुनौतीहरु छन् । जो हाम्रा लागि अवसर पनि हुन । हामीले कृषिलाई आधुनिकिकरण गर्दै पशुपालन,कृषि पकेट कार्यक्रम बनाएर स्थानिय युवाहरुलाई रोजगारी सृजना गरिएको छ । कृषिलाई आधुनिकिकरण गर्दा नगरबासी स्वारोजगार भएका पाइएको छ । हामी निर्वाचित भएर आएपछि कृषि क्षेत्रलाई लक्षीत गरि करिब एक सय वटा इनार,५० भन्दा बढी बोडिङ र करिब ५० किलो मिटर कृषि विद्युतिकरणको काम गरेका छौँ । 

प्रमुख प्रशासकिय अधिकृतहरु परिवर्तन भई रहँदा नगरको काममा समस्या परेको छ की छैन ?
प्रमुख प्रशासकिय अधिकृतहरु वर्षमा २ वटा परिवर्तन भएका छन् । तर हामीलाई त्यसले प्रभाव पारेको छैन । छिमेकी स्थानिय निकायमा ५० प्रतिशत बजेट होल्ड भएका छन् । तर हाम्रो नगरमा त्यस्तो समस्या छैन । जान्छु भन्ने प्रमुख प्रशासकिय अधिकृतहरुलाई हामीले रोकेका छैनौँ ।

अन्त्यमा आउने निर्वाचनमा तपाईको चासो के छ ?
पार्टीले पत्याएर मलाई फेरी अवसर दियो भने नगरको उम्मेद्वार उठ्छु । जित्छु पनि तर जो उम्मेदवार भएपनि सिङ्गो नेकपा (एमाले)को उम्मेदवार उठ्ने हो ।

images
प्रकाशित मिति :कार्तिक २३, २०७८ मंगलवार - २१:३२:३५ बजे

एसपी गौरब

लेखक/पत्रकार शंखर पहाडी (गौरब) राष्ट्रिय समाचार समिति (रासस) सर्लाहीका जिल्ला समाचारदाता हुन भने कमलामाई मिडिया प्रालीका अध्यक्ष, सञ्चालक एवम प्रवन्ध निर्देशक हुन ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology