त्यसो त चितवन सुगम जिल्ला भनेर चिनिन्छ। तर धेरैलाई थाहा नभएको कुरा चितवन जिल्ला भित्र पनि पहाडी भुगोलहरु छन्। त्यसैले पनि चितवनमा ६ वटा नगरपालिका हुदै गर्दा एक्लो गाउँपालिकाको रुपमा इच्छाकामना गाउँपालिका रहेको छ।
साविकका पहाडी गाविसहरुको रुपमा परिचित ५ वटा गाविसहरु मिसाएर इच्छाकामना गाउँपालिका बनेको हो। यस्तै इच्छाकामना गाउँपालिकाको उत्तर पूर्वी भेग र उत्तर पश्चिम भेगमा ३ वटा जिल्लाका पहाडी भुगोल भएका गाउँपालिका छिमेकीको रुपमा रहेको छ। बिचमा त्रिशुली नदी रहेको यहाँ धादिङको बेनिघाट रोराङ गाउँपालिका, गोरखाको गण्डकी गाउँपालिका, शहिद लखन गाउँपालिका र तनहुँको आँबुखैरेनी गाउँपालिका इच्छाकामना गाउँपालिकाको छिमेकी हुन्। यी गाउँपालिकाहरुका भुगोल, भाषा, समुदायको बसोबास लगायत धेरै कुराहरुमा समानता छ। यी गाउँपालिकाहरु विकास र समृद्धिका लागि आर्थिक, सामाजिक, भौगोलिक, राजनैतिक, पर्यटकीय रुपमा धेरै सम्भावना भएका गाउँपालिकाहरु हुन्।
हिजोका दिनमा सरकारले राम्रो आम्दानी गरेका क्षेत्रहरु यहि छन्। उदाहरण कै रुपमा भन्नु पर्दा इच्छाकामना गाउँपालिकामा पर्ने लामो झरना, इच्छाकामना मन्दिर, उप्रदाङ्गगढी, चितवनको सबैभन्दा अग्लो डाडाँ सिराईचुली यहि छन्। त्रिशुली नदीको ¥याफ्टिङ्ग, धादिङ बेनिघाट गाउँपालिकामा पर्ने चुन ढुङ्गा खानी, गोरखा गण्डकी गाउँपालिकामा पर्ने भैरवी चौर, दक्षिण एसियाकै पुरानो ठूलो दावी गरिएको समि रुख, तनहुँको आँबुखैरेनी गाउँपालिकामा पर्ने तनहुँै अग्लो स्थान छिम्कालेक डाडाँ र छिम्केश्वरी मन्दिर, आधिमुललाई पनि देशको विकास र समृद्धिको लागि सघाउ पु¥याउन सक्ने सम्भावनायुक्त क्षेत्रको रुपमा लिन सकिन्छ। यति मात्र नभै गोरखाको शहिद लखन गाउँपालिकामा पर्ने देशकै चर्चित धार्मिक पर्यटकिय स्थल मनकामना माईको मन्दिर र नेपालकै पहिलो केवलकार मनकामना केवलकार पनि यहि पर्दछन्, जसले लामो समयदेखि देशको समृद्धिमा टेवा पु¥याईरहेको छ।
यी यावत कुराहरुको सम्भावना रहेरै पनि जिल्ला सदरमुकाम भन्दा टाढा छेउतिर भएर हुन सक्छ यी गाउँपालिकाका यी क्षेत्रहरु ओझेलमा छन्। ओझेलमा रहेका यी क्षेत्रहरुले एकाध समयमा बाहेक राष्ट्रिय सञ्चारमाध्यममा खबरका रुपमा कमै स्थान पाउने गरेका थिए। यहि कुरालाई मध्य नजर गर्दै सञ्चारको नयाँ माध्यम अनलाईन मिडियालाई प्रयोग गर्दै यी नै गाउँपालिकाको कुना कन्दरा गाउँका खबरहरुलाई सूचना समाचारको रुपमा प्रकाशन गरि विश्वभर रहेका आम समुदाय माझ पु¥याउने जमर्कोका साथ ३ वर्ष अघि २०७४ साल कार्तिक ३० गतेका दिन नेपाल सरकारको सूचना तथा सञ्चार प्रविधि मन्त्रालय सूचना विभागमा विद्यिवत रुपमा दर्ता भै यस क्षेत्रकै पहिलो अनलाईन मिडियाको रुपमा हामीले इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. मार्फत इच्छाकामना न्युज डटकम डिजिटल अनलाईन पत्रिकाको सुरुवात गरेका थियौं।
‘अब गाउँको खबर विश्वभर...’ भन्ने नारालाई नै मूल मन्त्र मानेर हामीले ३ वर्ष अघि सुरु गरेको यात्रा आजदेखि सफलता पूर्वक तेस्रो वर्ष पूरा गरेर चौथो वर्षमा प्रवेश गरेको छ। देशमै भर्खरै सुरुवाती चरणको रुपमा रहेको नयाँ मिडिया त्यसमाथि सानो ठाउँमा खुम्चिदो विज्ञापन बजार अनि पुराना सञ्चारमाध्यमको बर्चस्व रहेको बेला हामीले थालेको यात्रा आफैमा चुनौतीपूर्ण थियो नै तर त्यो चुनौती पार गर्ने हिम्मत गरेरै हामीले यात्राको थालनी गरेका थियौ। सिमित स्रोत साधनका बिच हामीले थालेको कठिन यात्राले गर्दा पनि तीन वर्षे यात्राका दौरान हामीले निकै चुनौतीको सामाना गर्न प¥यो।
केहि चुनौतीको स्मरण गर्नै पर्दा आम पाठक सामु हामीले सत्य तथ्य समाचार पस्कने क्रममा हाम्रो अनलाईन माथि टेक्निकल्ली आक्रमण समेत भएको थियो। करिब डेढ वर्ष अघि आँबुखैरेनी गाउँपालिकाको सामाजिक सुरक्षा भक्तामा भएको घोटाला प्रकरणको पर्दाफास गर्दा हामी माथि आईपरेको टेक्निकल्ली आक्रमण हाम्रा लागि निकै सकसपूर्ण चुनौती बनेको थियो। त्यो घटनाले हामीले केहि पाठ पनि सिकाएर गए। समाचार प्रकाशनको दौरान हामीले प्रकाशन गरेको समाचारले चित्त नबुझेको समुह र व्यक्तिबाट आउने असभ्य भाषाबोली त सामान्य नै भए। त्यो भन्दा ठुलो चुनौती आर्थिक नै छ। साघुरो विज्ञापन बजारमा बढेका सञ्चारमाध्यमले झन चुनौती थपेको छ। तैपनि हामीले गाउँको खबर विश्वभर पु¥याउने हाम्रो अभियान जारी राखेका छौं।
त्यसो त हाम्रो यो अभियानलाई जारी राख्न तपाई आम समुदाय, शुभचिन्तकहरुले हामी प्रति राख्नुभएको सदासयताले हामीलाई उर्जा दिएको छ। आम विज्ञापनदाताले दिएको साथले हाम्रो यात्रा अलि सहज बनेको छ। त्यसैले तपाई आम पाठक, विज्ञापनदाता, शुभचिन्तकले हामी प्रति देखाएको यो सदासयता, सद्भाव प्रेमको हामी सधै ऋणी छौं। आगामी दिनको हाम्रो यात्रामा पनि यहाँहरुको सदासयता, सद्भाव प्रेमको हामी सधै अपेक्षा गरिरहनेछौं र ‘अब गाउँको खबर विश्वभर...’ पु¥याउने हाम्रो अभियान निरन्तर जारी राख्नेछौं भन्ने प्रतिबद्धता व्यक्त गर्दछौं।