Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

अन्तरलिङ्गी समुदायका लागि संविधानमा भएको व्यवस्था कार्यान्वयन भएन 

अन्तरलिङ्गी समुदायका लागि संविधानमा भएको व्यवस्था कार्यान्वयन भएन 

images

सिआईएन

१४, कार्तिक २०७८
अन्तरलिङ्गी समुदायका लागि संविधानमा भएको व्यवस्था कार्यान्वयन भएन 
images

उषा तामाङ, काठमाडौँ, १४ कार्तिक । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय अन्र्तगत अन्तरलिङ्गी समुदाय पर्दछन् । महिला र पुरुष दुवैको लिङ्ग लिएर जन्मनेहरुलाई अन्तरलिङ्गी भनिन्छ । तर यस्तो समुदायको सङ्ख्या कति छ भन्ने एकिन तथ्थ्याङ्क छैन ।

जतिले आफ्नो पहिचान खुलाएका छन्, उनीहरूलाई समाजमा स्थापित हुन सजिलो छैन । जन्मदै दुईवटा लिङ्ग लिएर जन्मने भएकोले कतिपय अन्तरलिङ्गीको पहिचान सानैमा गर्न सकिन्छ ।  तर कतिपयको भने यौन विशेषताहरूको आधारमा किशोरावस्थामा मात्रैपहिचान हुन्छ । घर, विद्यालय र समाजबाट अपहेलित हुने डरले अन्तरलिङ्गीहरू आफ्नो पहिचान खुलाउन हिचकिचाउने गरेका छन् ।

सीआइएनसँग कुराकानी गर्दै एक जना अन्तरलिङ्गीले समाजको अपहेलना र परिवारलाई पर्ने असुरक्षाका कारण आफूहरूले पहिचान खुलाउन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो “प्राय जन्मदै अन्तरलिङ्गी भनी पहिचान हुन्छ, कतिपयको परिवारले सहजै स्वीकार गर्छन् त कतिपयले स्वीकार गर्दैनन् । जसको परिवारले स्वीकार गरेको हुन्छ, उसले परिवारको माया र साथ पाउँछ ।”

अन्तरलिङ्गीको पहिचान खुलाउन परिवारको साथ र समाजसँगै लड्न तयार हुनुपर्ने उनीहरू बताउँछन् । महिला र पुरुष दुवैको यौनाङ्गसहित जन्मेका बच्चालाई कतिपयको परिवारले स्त्री या पुरुषमध्ये कुनै एक अङ्ग राखेर शल्यक्रियाबाट हटाउने गरिन्छ । सीआइएनसँगको कुराकानीमा उहाँले भन्नुभयो, “मेरो पनि परिवारले शल्यक्रिया गर्न खोज्नुभएको थियो तर ९ वर्ष पुगीसकेका कारण शल्यक्रिया गर्न नमिल्ने जवाफ चिकित्सकको थियो ।”

शल्यक्रिया गर्नु शारीरिक स्वास्थ्यका लागी पनि हानीकारक हुने भएकोले न्यायोचित मानिदैन । यौवनावस्थामा पुगेपछि यौनिक पहिचान हुनेभएकोले अन्तरलिङ्गीले आफूमा महिला वा पुरुषको गुण भएको थाहा पाउँछ । त्यसैले बच्चा बेलामा शल्यक्रिया गर्नु उपयुक्त नहुने नील हिरा समाजका अध्यक्ष पिङ्की गुरुङको भनाइ छ ।

यौनिक तथा अल्पसङ्ख्यक समुदाय अन्तर्गत एकदमै कम सङ्ख्यामा अन्तरलिङ्गीहरू छन् । कम सङ्ख्या देखिनुमा उनीहरू आफैले आफ्नो पहिचान नखुलाउनु पनि हो ।

२०७३ सालमा भएको देशव्यापी भेलामा करिव ३० जना मात्रै अन्तरलिङ्गी सहभागी थिए । यौनिक तथा अल्पसङ्ख्यक समुदाय अन्तर्गत पनि अन्तरलिङ्गीहरू अत्यन्तै कम भएकोले पहिचानको मुद्दा जटिल छ । त्यसमाथि उनीहरूले आफ्नो पहिचान लुकाउन खोज्दा अधिकार प्राप्तिको विषय झन् जटिल भएको समाजका अध्यक्ष गुरूङले बताउनुभयो ।

अन्तरलिङ्गी व्यक्तिले आफूलाई महिला वा पुरुष दुवै ठान्न सक्छन् । नेपाली नागरिकता र राहदानीमा भने उनीहरुको पहिचान अन्यमा राखिएको छ । समाजमा महिला, पुरुष सरह नै उनीहरूको पहिचान, शिक्षा, स्वास्थ्य, उपचार, रोजगारी र हरेक क्षेत्रको प्रतिनिधित्व हुनुपर्ने राष्ट्रिय मानव अधिकार आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले बताउनुभयो ।

अल्पसङ्ख्यक तेस्रो लिङ्गी, द्विलिङ्गी, समलिङ्गी र अन्तरलिङ्गीले आफ्नो पहिचानको मुद्दा नउठाएका होइनन् । तर उनीहरूको समस्या र मुद्दा सुनुवाइ हुने गरेको छैन । सरकारी स्तरबाट केही सुनुवाइ भए पनि समाजमा स्थापित हुन असजिलो रहेको छ । उनीहरूको मुद्दालाई बलियो बनाउने गरी राष्ट्रिय समावेशी आयोगले अध्ययन गरिरहेको र सरकारलाई सुझाव दिने गरी काम भइरहेको अध्यक्ष डा. रामकृष्ण तिमल्सेनाले बताउनुभयो ।

नेपाली नागरिकता प्राप्तिको विषय मात्रै होइन अन्तरलिङ्गी भएवापत विद्यालय, रोजगारीबाट निकालीनु पर्ने भएकाले शिक्षाको पहँुच, रोजगारीमा राज्यले समावेशी कोटा निर्धारण गर्नुपर्ने, वैवाहिक मान्यता सम्बन्धि व्यवस्था, समाजको अपहेलना लगायत निरन्तर भोगिरहनुपर्ने समस्याको समाधान गर्नुपर्ने अन्तरलिङ्गी समुदायको माग छ ।

नागरिकता नियमावली २०६३ का अनुसूची हेरफेर तथा थपघट गरी यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिलाई लिङ्गको महलमा अन्य जनाई नागरिकता जारी गर्न २०६९ साल असार ९ गतेको राजपत्रमा सूचना प्रकाशन गरिएको थियो ।

यो व्यवस्थाले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकलाई नागरिकताविहीन हुनबाट जोगाएको छ । तर अन्यबाट नागरिकता लिन भने सहज नभएको उनीहरूको भनाइ छ ।

आफ्नो पहिचान र आत्मसम्मानका लागि सङ्घर्षरत यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई नेपालको संविधान २०७२ को धारा १२ मा धारा १२ मा प्रत्येक नागरिकले लैङ्गिक पहिचानसहितको नागरिकता पाउने व्यवस्था गरिएको छ । 

images
प्रकाशित मिति :कार्तिक १४, २०७८ आइतवार - ०९:२३:२४ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology