चितवन, ६ असोज । चितवन मेडिकल कलेजका निर्देशक भक्तमान श्रेष्ठको अपहरणमा संलग्न गिरोहका एक जना सदस्य पक्राउ परेका छन् । अपहरणका योजनाकार मध्येका राजेन्द्र पण्डितलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले नुवाकोटबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार राजेन्द्र अपहरितलाई राख्ने घरको व्यवस्थापन गर्ने कार्यमा संलग्न थिए ।
पुनरावेदन अदालत, हेटौंडा इजलासले उनलाई ९ वर्ष कैद र ५० हजार रुपैयाँ जरिमानाको सजाय सुनाएको थियो । तर उनी लुकिछिपी नेपाल र भारतका विभिन्न स्थानमा बस्दै आएका थिए ।
अपहरणकारी रोहित पालिवाल र भीमसेनको समूहले ४ जेठ २०६७ मा अस्पतालबाट घर फर्किँदै गरेका तत्कालीन निर्देशक श्रेष्ठको अपहरण गरेको थियो ।
प्रकरणमा रोहित पालिवाललाई अपहरणमा फिरौतीवापत लिइएको १ करोड ८ लाख ५० हजार रुपैयाँ बिगो र त्यसबराबरको जरिवाना र १५ वर्ष कैद सजाय सुनाएको थियो । पालिवाल भने पक्राउ परिसकेका छन् ।
मोबाइल र सञ्चारका अन्य साधनबाट टाढा रहेका कारण प्रहरीले भिमसेनलाई पक्राउ गर्न सकेको छैन ।