गोरखा, २६ भदौ । गोरखाको गण्डकी गाउँपालिकाको केन्द्र भुम्लिचोक र शहिद लखन गाउँपालिकाको केन्द्र घैरुङ आसपासमा प्रहरी चौकी स्थापना हुने भएको छ। यद्यपी यी दुवै गाउँपालिकामा यसअघिनै प्रहरी चौकी भएपनि गाऊँपालिकाको केन्द्र आसपास भने प्रहरी इकाई थिएन।
यहि बिच स्थानीय तहको केन्द्रमा चौकी स्थापना गर्ने गरि दरवन्दी स्विकृत भएर आएको जिल्लाका प्रहरी प्रमुख एसपी शेखर खनालले बताए। शहिद लखनको केन्द्र घैरुङ र गण्डकी गाऊँपालिकाको केन्द्र भूम्लीचोकमा प्रहरी चौकीका लागि जग्गा ब्यवस्थापनका सम्बन्धमा गृहकार्य भैरहेको उनले जानकारी दिए।
गाऊँपालिकाको केन्द्रमा रहने प्रहरी चौकीमा सहायक निरिक्षक असईको नेतृत्वमा १०÷१० जनाको दरले प्रहरीको दरवन्दी स्विकृत भएको छ। दरवन्दी स्विकृत भएपनि थप जनशक्ति आइनसकेकाले जिल्लामा अहिले भएकै मध्येबाट प्रहरी खटाउनु पर्ने अवस्था रहेको उनले जानकारी दिए।
प्रहरी चौकी निर्माणका लागि कम्तिमा ३ रोपनी जग्गा आवश्यक पर्छ । पालिकाहरुले भने जग्गाको ब्यवस्थापनमा कुनै समस्या नभएको बताउँदै आएका छन् । भवन नबनुन्जेलसम्मका लागि प्रहरीको बसोबासको ब्यवस्थापन गर्न पनि सकिने दुई वटै पालिकाका जनप्रतिनिधिले बताएका छन् ।