Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

‘मध्यरातमा मुर्कट्टा’ देख्ने कवि

‘मध्यरातमा मुर्कट्टा’ देख्ने कवि

images

तेजविलास

२४, भाद्र २०७८
‘मध्यरातमा मुर्कट्टा’ देख्ने कवि
images

अन्धकारमय कालरात्रीमा कुम्भकर्ण निद्रा सुत्नेहरु पनि छन् । मध्यरातमा मुर्कट्टा देख्नेहरु पनि छन् । सुतिरहनेहरु केही लेख्दैनन् किनकि तिनीहरु केही देख्दैनन् । केवल स्वार्थको साङ्लोले तिनलाई बाँधेको हुन्छ । लुट्ने कर्ममा काबिल भएकाले मात्र श्रम शोषणको इतिहासको निरन्तरता दिन्छन् । चाहे दिन होस् चाहे रात, खराब शासकले गरेका सन्धि सम्झौता, पोसेका टोले गुण्डा अनि शोषण गरेको देशको अस्तित्व सबै सबै सपना र विपनामा आइरहन्छन् चिन्तकहरुको दिमागमा । कोरिन्छ नयाँ चित्र देश निर्माणको, खोजिन्छ अनेक विकल्प जीवनयापनमा जोडिएका लाखौं श्रमिकहरुको, बन्छ नयाँ र दर्विलो सङ्घर्षको इतिहास । हामीलाई इतिहासले पनि पीडा दिन्छ । ठिक वा बेठिक इतिहास पढेर पीडा बेहोर्नु । पाठक दुःखी पार्नुभन्दा पाठकलाई जगाउन इतिहासले सकोस् । 

भर्खरै एउटा कवितासङ्ग्रह सार्वजनिक भएको छ  ‘मध्यरातमा मुर्कट्टा’ । कवि अनिल श्रेष्ठको छैटौँ काव्यकृति हो  ‘मध्यरातमा मुर्कट्टा’ । उनका नवौं कृतिहरु मध्ये आकारमा सानो भएर पनि पछिल्लो साहित्यिक साधना र सामाजिक जिम्मेवारीबाट निस्किएको यो कविता सङ्ग्रहलाई विवेक सिर्जनशील प्रकाशन प्रा. लि. ले प्रकाशनमा ल्याएको हो । कविता सङ्ग्रहभित्र जम्मा ३५ ओटा कविताहरु रहेका छन् । यति छोटा पनि कविता हुन्छन् ? भन्ने प्रश्न गर्न नभ्याउँदै उनका कविताहरुले मथिङ्गलमा कम्पन ल्याइदिन्छन् । अनि म भन्न सक्दिनँ ५,६ पङ्तिको कविता हुँदैन । कवितासङ्ग्रहभित्र कतै व्यक्ति विशेष नामसँग सम्बन्धित वर्णन छ त कतै कविकै मुखबाट केही प्रतिबद्धता गरिएका सन्दर्भ रहेका छन् । 

‘भाँचिएको सियो’, ‘एकदिन’, ‘वक्त’, ‘आजकल सिंहदरबारमा फूलहरु फुल्दैनन्, ‘तिम्रो स्मृतिमा’, ‘सत्ता’, ‘लय’, ‘जादुगर’, ‘इजलास’, ‘विमल निभा’, ‘व्यर्थ हाँसो’, ‘अनादि लय’ हुँदै अन्तिम अर्थात चौथो अनुच्छेदमा पुगेर कविताको क्रम टुङ्गिन्छ । कवि आफ्ना कविताहरुमा व्यक्तिलाई गाली गर्दैनन्, प्रवृत्तिमाथि प्रहार गर्छन् । राजनीतिको ‘रा’ पनि उच्चारण नगरी राजनीति गर्नेहरुको उदाङ्गो क्रियाकलापलाई काव्यभाषा प्रयोग गर्छन् । जनयुद्धको आधारभूमि टेकेर आएको परिवर्तनले सामान्यभन्दा सामान्य जनतालाई छुन नसकेकोप्रति चिन्ता व्यक्त गर्दछन् । कवि आफ्ना कवितामा कतै कवि विमल निभालाई चेतनाको गायकका रुपमा चिनाउँछन् त कतै खुशीराम पाख्रिनलाई सम्झिएर अहिलेको सत्ताप्रति अलिकता तीतो पोख्छन् । सम्मान गर्दागर्दै पनि कहिलेकाहीँ परिवेशले सम्मानित पात्रलाई अपमानित बनाएको सन्दर्भ प्रस्तुत गर्दछन् । पछिल्लो पाँच वर्षको अवधिमा लेखिएको कविताहरुमध्य अधिकांश २०७२ सालपछि संविधानसहित देशमा के के आयो भन्नेहरुलाई कसरी आयो खै परिवर्तन ? प्रश्नैप्रश्नको प्रहार गर्दछन् । शोषित पीडितको आवाज उठाउन तल्लीन कवि आफ्नो धरातल र विरासत बिर्सन चाहँदैनन् । नेपाली समाजको पक्षपातपूर्ण व्यवहारले चिन्तित समुदायले नेपाली हुनुको गौरव के ले गर्ने हो भन्ने प्रश्न गम्भीर ढङ्गले उठाएका छन् । 

जति समस्या आएपनि आफ्नो लय फेर्न हुन्न भन्दै ‘लय’ कवितामा नेपाली समाजले जतिसुकै कोल्टो फेर्‍यो भने पनि गुणात्मक समाज बनाउन वर्गीय हिसाबले समस्याको समाधान गर्न चुकेको विषय उठान गरेको छ । ‘इश्वरको जन्म’ कविताले इश्वरको नाममा लुट्नेहरुप्रति व्यङ्ग्य गरेको छ । इश्वर बन्ने र बनाउने प्रथा कहिलेसम्म रहिरहला भन्ने भाव व्यक्त गरिएको छ । ‘एकदिन’ कविताले पर्यावरणप्रतिको चिन्तालाई मुखर गरेको छ । ‘अगुल्टो’ कविताले विचारको बीज कहिल्यै ननासिने र नमासिने विषयतर्फ सङ्केत गरेको छ । पूर्व शासक र वर्तमान शासकहरु बर्बराइरहेका छन् । आफूलाई लागेको विषय नै पूर्ण सत्य हो भन्नेहरु आफूले आफैलाई राजनेता घोषित गरेकोप्रति आक्रोश गर्न पुग्छन् । ‘सेलिब्रेटी’ कविताले २,४ कविता लेखेर पत्रिकामा छपाएपछि आफूले आफैलाई स्वघोषित कविको दर्जा दिनेहरुकै विगविगी चलिरहेको यथार्थ व्यक्त गर्दछन् । जाँडरक्सीको नशामा जनतालाई डुबाएर चुनाव जितेर जानेहरुले देशको भूगोललाई बन्दकी राखेर यावत काम गरेको र नागरिकहरुले त्यसको परिणति आज भोगिरहेको विषयहरु कविताहरुमा आएको छ । 

‘जादुगर’ कविताले स्वघोषित संबृद्धिका नेताप्रति गम्भीर व्यङ्ग्य प्रहार गरेका छन् । झण्डै दुई वर्षदेखि जनता स्वास्थ्य समस्याको त्रासमा बाँच्नु परेको र जनताका निम्ति सरकार काममा भन्दा कमिसनमा रमाएको सन्दर्भ कविताहरुले प्रस्तुत गरेका छन् । 

‘मध्यरातमा मुर्कट्टा’ कवितासङ्ग्रहले व्यापारीहरुको राजनीतिमा भएको पदोन्नति, भ्रष्टहरुले दिने गरेको असल शासनको नारा, आवधिक निर्वाचनका नाममा जनतालाई किनबेचको वस्तु बनाइएको वास्तविकताप्रति संवेदनशील भएर सोच्न र राहतका नाममा भएको अनियमितताको शृङ्खला डरलाग्दो रहेको विषयले सचेत नागरिकलाई पलायन हुन बाध्य बनाइरहेको त होइन भन्ने चिन्ता समेत व्यक्त भएको छ । कवि आफूलाई एउटा आम नागरिकको रुपमा उभ्याउँदै न्यायालयले गरेका गलत फैसलाप्रति पनि नागरिक आवाज सङ्गठित पार्न आह्वान गर्दछन् । कवि कवितामा समाजलाई केलाउँछन्, अनेक विषय खेलाउँछन् । कतिपय कविता साह्रै छोटो हुनाले कविताका पारखीहरु क्विताबाट तृप्त हुन नपाउँदै कविता सकिन्छ । राम्रा कविताहरुको रसस्वादन हराइरहेको वर्तमानमा कवि अनिल श्रेष्ठको यो कवितासङ्ग्रह उल्लेखनीय प्राप्ति मान्न सकिन्छ । 

images
प्रकाशित मिति :भाद्र २४, २०७८ बिहिवार - १९:४४:४७ बजे

तेजविलास

लेखक तेजविलास साहित्यकार हुन्।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology