तनहुँ, २२ भदौ । मन्त्री हुन नपाएको झोकमा कांग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिएका तनहुँ निर्वाचन क्षेत्र नं. १ का सांसद किसान श्रेष्ठको विपक्षमा स्थानीय जनप्रतिनिधी उभिएका छन्। तनहुँ निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित ७० जना जनप्रतिनिधी मध्ये जम्मा ३ जना मात्रैं एमाले फुटेर बनेको र सांसद श्रेष्ठ रहेको पार्टी समाजवादी रोजेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ।
सांसद श्रेष्ठको निर्वाचन क्षेत्रमा पर्ने भानु नगरपालिकामा एमालेबाट विजयी ३८ जना जनप्रतिनिधी मध्ये ३८ जना नै एमालेको पक्षमा उभिएका छन् । बन्दीपूर गाउँपालिकामा ५ जना पाँचै जना, देवघाट गाउँपालिकामा निर्वाचित १२ जना १२ जना नै एमालेको पक्षमा उभिएका छन् । व्यास नगरपालिकामा एमालेबाट निर्वाचित ४ जना जनप्रतिनिधी मध्ये २ जना र आँबुखैरेनी गाउँपालिकामा एमालेबाट निर्वाचित ११ जना मध्ये १० जना एमालेकै पक्षमा उभिएका छन् ।
समाजवादी तिर लागेका ब्यासका दुई जना जनप्रतिनिधी सांसद किसान श्रेष्ठकै पहलमा कांग्रेसबाट ल्याएर टिकट दिइएको थियो । उनीहरु जाँदा पार्टीलाई कुनै घाटा नभएको एमाले तनहुँ सचिव भगवती न्यौपानेले दावी गरिन् । यसरी हेर्दा तनहुँ क्षेत्र नं. १ मा अध्यादेशबाट बनेको माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको पक्षमा जम्मा ४.२ प्रतिशतमात्रै जनप्रतिनिधी गएका छन् ।