भरतपुर, १४ भदौ । लगातारको वर्षाका कारण पहिरो खस्दा काठमाडौं छिर्ने मुख्य नाका नागढुङ्गा सडकखण्ड फेरि ठप्प भएको छ । सोमबार बिहान साढे ५ बजे नागढुङ्गा नजिकै चिसापानीमा पहिरो गएको प्रहरीले जनाएको छ । पहिरोका कारण अहिले दुुईतर्फी नै सडक बन्द भएको छ ।
सडक बन्द हुँदा काठमाडौं जाँदै गरेका रात्रि बस र अन्य गाडीसहित यात्रु अलपत्र परेका छन् । हिजो पनि यही ठाउँमा पहिरो गएको थियो । तर पहिरो हटाएर हिजो दिउँसाे १ बजेदेखि सडक खुलाइएको थियो ।
काठमाडौंसँगको मुख्य नाका भएकाले यो सडकखण्ड भएर दैनिक हजारौँ यात्रुु ओहोरदोहोर गर्दछन् । बाटो बन्द भएपछि गाडीको लाइन लागेको छ । कतिपय यात्रुहरू हिँडेरै गन्तव्यतर्फ लागेका छन् ।