सर्लाही, ४ भदौ । प्रदेश नम्बर २ मा सञ्चालीत मालबाहक सवारी साधनहरुको लोड क्षमता तौल गर्ने मेसिन सर्लाहीको हरिवन नगरपालिका १० नयाँ रोडमा मात्र रहेको छ । जहाँ ट्राफिक प्रहरीको अस्थायी चेक पोष्ट समेत रहेको छ ।
प्रदेश २ मा ८ जिल्ला रहेका भएपनि अरु जिल्लामा मालबाहक सवारी साधनहरुको लोड क्षमता तौल गर्ने मेसिन नहुँदा हरेक ट्राफिक प्रहरीको नजर सोही काँटामा मात्र पुग्ने गरेको छ । मासिक रु १ लाख ५० हजार सम्म कमाउन पाउने आशमा रहेका ट्राफिक प्रहरी कर्माचारीहरु काँटामा आफ्नो डिउटी मिलाउन कार्यालय प्रमुखलाई जे गर्नु परेपनि गर्न तयार हुन्छन् ।
तिनी मध्यका एक हुन ट्राफिक प्रहरी असई शैलेन्द्र ठाकुर, उनि प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रदेश २ पथलैया बाराका प्रहरी प्रमुख प्रहरी उपरिक्षक हिमालय कुमार श्रेष्ठले पठाएको भन्दै असुलीमा लागेका छन् । उनले मालबाहक सवारी साधनहरुको लोड क्षमता तौल गर्ने काँटाबाट बढी लोड लिएर आएका सवारी साधनहरुलाई कार्बाही नगरि कमिसन लिएर छाड्ने गरेका छन् ।
त्यसैगरी टिपरवालाहरुसंग,ठेकेदारहरुसंग, ट्याक्टरहरुसंग, बाबाको चुहा, विभिन्न केमिकल बोकेर आउने सवारी साधनहरुबाट उनले मासिक कमिसन उठाउने गरेको पाइएको छ । आफुलाई प्रदेशका हाकिमले पठाएको घमण्ड गर्दै असई ठाकुरले चर्को कमिसन उठाएका पाइएको छ ।
आखिर कतिदिन सम्म चल्छ ट्राफिक प्रहरीको असुली धन्दा र हैरान हुने हामी’ कमिसन नदिने यातायात व्यावसायीहरुको गुनासो छ ।