सर्लाही, ३ भदौ । सर्लाहीमा संचालित अधिकांश मोटरसाइकल चालकहरुले हेल्मेट लगाउन सकभर नपरे हुने सोच्छन्। जिल्लाको भित्रि गाउँहरु र ग्रामिणभेगका सडकमा मात्र नभई पुर्व पश्चीम लोकमार्गमै संचालित सरकारी तथा निजी मोटरसाईकल चालकहरुले हेल्मेट लगाउदैनन्। जिल्ला सदरमुकाम मलंगवाको सडकमा समेत मोटरसाइकल चालकहरु हेल्मेट बिना नै चलाइरहेको देखिन्छन्।
जिल्लाको मलंगवा, बरहथवा, बयलवास, हरिवन, लालबन्दी लगायतका बजारक्षेत्रमा पनि धेरै मोटरसाईकल चालकहरुले हेल्मेट नलगाइ यात्रा गरेको देखिन्छ । हेल्मेट नलगाउनेहरुसँग रु५ सय देखि १ हजार ५ सय सम्म जरीवान गर्न सक्ने नियम छ। यस्तै चालक अनुमती पत्र नभएकालाइ १ हजार देखी १ हजार ५ सयसम्म जरीवाना गर्ने सकिने जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
पहिलेका दिनहरुमा भन्दा मोटरसाईकल चालकहरु सचेत हुदै आएको र मुख्य राजमार्गमा हेल्मेट नलगाइ हिड्ने मोटरसाईकल चालकहरुलाई कार्वाही गर्ने गरेको, सचेत गराउने गरेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
मोटरसाइकलमा चारजना सम्म चढाउने, उमेर नपुगेका किशोरहरुले मोटरसाइकल चलाउने, सवारी चालक अनुमतीपत्र नभएकाहरुले मोटरसाइकल चलाउने गरेको समेत पाइन्छ । चालकको लापरवाही, तिव्रगती, र सवारी साधन दुरुस्त नराखेकाले बढी दुर्घटना हुने गरेको ट्राफिक प्रहरीको अनुमान छ ।