गोरखाको शहिदलखन गाउँपालिका ७ का वडा अध्यक्ष शरण श्रेष्ठले गाउँपालिकाको समन्वय मार्फत बुङ्कोट स्वास्थ्य चौकीमा दाता सँग मागेर एम्बुलेन्स ल्याए ।
उनको अनुरोधलाई स्विकार गर्दै संभब नेपालले केही समय अघि ग्रामिण भेगमा सहजै चल्ने खालको एम्बुलेन्स उपलब्ध गरायो । संस्थाका अध्यक्ष प्रेम खत्री मार्फत शहिदलखन गाउँपालिका हुँदै बुङ्कोट स्वास्थ्य चौकी आएको एम्बुलेन्स निशुल्क सेवामा प्रयोग हुन थालेको छ ।
एम्बुलेन्स मार्फत शहीदलखन ७ र ८ का वडा अध्यक्षहरुले अहिले वडाबासीलाई निशुल्क सेवा दिने साझा कार्यक्रम ल्याएका छन् । एक पटक बुङ्कोट देखि गोरखा सदरमुकाम आउँदा सर्वसाधारणले एक हजार आठ सय रुपैयाँ एम्बुलेन्स भाडा तिर्नुपर्छ । भाडा छुट भएसँगै उनीहरुको पैसा जोगिएको छ भने उपचार पनि सहज हुने भन्दै खुसी भएका छन् ।
‘गर्भवती, जेष्ठ नागरिक, अपाङ्गता भएका ब्यक्तिलाई बुङ्कोटदेखि गोरखा अस्पताल ल्याउन लैजान निशुल्क एम्बुलेन्स सेवा सुरु गरेका हौँ’ अध्यक्ष श्रेष्ठले भने । उनले वडा नम्बर ७ मा उक्त कामका लागि चालु वर्ष दुई लाख बजेट बिनियोजन गरेका छन् । ‘एम्बुलेन्स भाडा तिर्नको समस्याले जाँच गराउन अस्पताल नजाने, भनेको बेला एम्बुलेन्स नपाउने समस्या पनि थियो’ उनले भने ‘यो एम्बुलेन्स स्वास्थ्य चौकी मातहत हुने भएकाले अब त्यस्तो समस्या हुँदैन ।’
सँगैको वडा नम्बर ८ ले पनि तीन लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ । वडा अध्यक्ष काशिनाथ अम्गाईले जनतालाई सहज सेवा दिन वडा कार्यालयले वार्षिक रुपमा कार्यक्रम नै राखेर बजेट बिनियोजन गरेको बताए ।
यी दुबै वडाका स्थानीय ७० वर्ष माथिका जेष्ठ नागरिक, सुत्केरी हुने अवस्थाका गर्भवती र अपाङ्गता भएकाले स्थानीय स्वास्थ्य चौकीको सिफारिसमा निशुल्क एम्बुलेन्स सेवा पाउनेछन् । अन्य बिरामी र आकस्मिक समस्या परेकालाई पनि एम्बुलेन्स सहुलियतमा सहज सेवा दिने गरेको स्वास्थ्य चौकीले जनाएको छ ।