एकेन्द्र खत्री, अछाम , २७ साउन । अछाम जिल्ला अस्पतालमा भवनसँगै स्वास्थ्यकर्मी अभाव हुँदा बिरामीको उपचारमा समस्या भएको छ । कोरोना महामारीका बिच सीमित स्रोत साधनका भरमा रहेको अस्पतालमा दरबन्दीअनुसारका चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या भएको अस्पतालले जनाएको छ ।
कोरोना महामारीकै अवधिमा थुप्रै उपकरण र स्वास्थ्य सामग्री जुटाएको अस्पतालमा भवन र दरबन्दीअनुसारका मेडिकल अधिकृत, विशेषज्ञ तथा स्वास्थ्यकर्मी भने छैनन् । कोरोनाको तेस्रो लहरको खतरा बढिरहेको बेला आइसीयू र भेन्टीलेटर सञ्चालनका लागि आवश्यक मेडिकल अधिकृतको अभाव भएको अस्पतालले जनाएको छ । जिल्ला अस्पतालमा तीनजना डाक्टरसहित ५५ जना स्वास्थ्यकर्मीको दरबन्दी भएपनि हाल ९ जनामात्र स्वास्थ्यकर्मीले सेवा दिइरहेका छन् ।
यस्तै ल्याब टेक्निसियनसमेत नहुँदा उपचारमा थप समस्या भएको छ । करिब ४० वर्षअघि बनेको अछाम अस्पतालको भवन जीर्ण भइसकेको छ । १५ शय्याको अस्पताल हाल ५० शय्यामा रुपान्तरण गर्ने सरकारको लक्ष्य भएपनि काम त्यसअनुसार अघि बढ्न सकेको छैन ।
प्रदेश सरकारबाट प्राप्त भएका १० वटा आईसीयू शय्या र अन्य साधारण गरी ३५ वटा शय्या अस्पतालको कुनामा थन्क्याइएका छन् । तर बिरामीको चाप बढ्दा एउटा शय्यामा दुई तीन जनासम्म बिरामीको उपचार गर्नुपर्ने अवस्था छ । अस्पतालमा भवनको अभावका कारण बिरामीले राम्रो सेवा नपाएको र केहीबाहेक अन्य औषधी मेडिकलमा किन्नुपरेको स्थानीय सिद्धप्रसाद ढुङ्गानाले बताउनुभयो ।
अछाम अस्पतालमा दैनिक एक सय ५० देखि एक सय ६० जनासम्म बिरामी आउने गरेको अस्पतालका प्रमुख डा. बाँस्कोटाले जानकारी दिनुभयो । सरकारले अछाम अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्ने भने पनि नयाँ भवन निर्माण गर्न कुनै पहलकदमी भने गरेको छैन ।