पुष्पा चौधरी, बर्दिया, २७ साउन । कर्णाली नदीको यही दोभान क्षेत्र ओखरिया इन्टेक अहिले पर्यटकिय गन्तब्य बन्दै गएको छ । गेरुवा गाउँपालिकाको वडा नं १ मा रहेको यो ओखरिया इन्टेक अहिले पर्यटकिय गन्तब्य क्षेत्र बन्दै गएको छ ।
ओखरिया इन्टेक क्षेत्रको सुन्दरता, हरियाली र शान्त वातावरणकाबारेमा प्रचारप्रसार भए पछि हिजो आज यस क्षेत्रमा घुम्न आउने पर्यटकको संख्या पनि दिनानुदिन बढ्दै गएको छ । स्थानिय युवाहरु गेरुवा पर्यापर्यटन विकास मञ्च गठन गरेर यसको प्रवर्धनमा जुटेका छन् ।
यस क्षेत्रमा घुम्न आउने पर्यटकहरु बस्नका लागि इन्टेकको डिल र चौरमा ३२ वटा वातावरण मैत्री आराम बेञ्च राखिएको छ । इन्टेकको मुहान नजिकै २ वटा गोल टेबुलसिहतको आराम बेञ्च र एउटा गैँडाको मूर्ती राखिएको छ ।
पिकनिक खानका लागि छुट्टै स्थान बनाइएको छ । इन्टेकको नजिकै शहिद पार्क निर्माणाधिन अवस्थामा छ । पार्क नजिकै ट्रि हाउस बनाइएको छ ।
गत आर्थिक वर्षमा गेरुवा गाउँपालिकाले यस क्षेत्रको प्रवर्धनका लागि साढे ४ लाख रुपैँया खर्च गरेको गेरुवा गाउपालिकाका अध्यक्ष जमानसिहं केसि बताउनुहुन्छ । इन्टेक क्षेत्र वरपर १० वटा हामे स्टेहरु छन् ।