काठमाण्डौ, २८ साउन । आज अन्तर्राष्ट्रिय युवा दिवस, नेपालमा बिभिन्न कार्यक्रम गरी मनाइँदैछ । दिवसको अवसरमा राष्ट्रिय युवा परिषद्को आयोजनामा आज देशभर बिभिन्न कार्यक्रम गरिँदैछ । ‘खाद्य प्रणालीमा रुपान्तरण, मानव र भूमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन’ भन्ने मूलनाराका साथ दिवस मनाइन थालिएको हो ।
आज बिहान साढे १० बजेदेखि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरवहादुर देउवाको शुभकामना सन्देशका साथ जुमका माध्यमबाट कार्यक्रम गर्न लागिएको परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले सीआईएनसँग बताउनुभयो ।
उपाध्यक्ष ढुङ्गेलले कोरोनाभाइरसको महामारीका कारण यसपटक पनि भर्चुअल रुपमा दिवस मनाउन थालिएको बताउनुभयो । उहाँले युवाको नेतृत्व विकासमा कसरी युवालाई पु¥याउने सकिन्छ भनेर दिवस मनाउन थालिएको जानकारी दिनुभयो ।
दिवसकै अवसर पारेर यही साउन १८ गतेदेखि सप्ताहव्यापी रुपमा युवा दिवसका अवसरमा रक्तदान, युवा र उद्यमशिलता, वैदेशिक रोजगार वरदान कि अभिसाप, युवाहरुको राजनीतिक सहभागिता विषयक अन्तरक्रिया कार्यक्रम, युवा र उद्यमशिलता युवा जागरण लोक दोहोरी गित प्रतियोगिता सहुलियतपूर्ण कर्जाका अवसर र चुनौती विषयक सरोकारवालाहरुमा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
दिवस मनाउनका लागि ७७ जिल्ला युवा समिति र राष्ट्रिय युवा सञ्जाललाई निर्देशन दिइसकेको ढुङ्गेलले जानकारी दिनुभयो । जिल्ला स्तरमा युवा सम्बन्धी गतिविधि गरेर दिवस मनाइने गरिन्छ ।
युवाका सवाललार्ई सम्बोधन गर्ने हेतुले संयुक्त राष्ट्रसङ्घले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ लाई अन्तरराष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेसँगै सन् २००० देखि नियमित रूपमा विश्वभर युवा दिवसका सन्दर्भमा विविध कार्यक्रम हुँदै आएका छन् ।
नेपालमा भने युवासँग काम गर्ने संघसंस्थाको अगुवाइमा पहिलो पटक सन् २००४ देखि दिवस मनाउन थालिएको हो । सरकारी रुपमा परिषद्को अगुवाइमा २०७३ सालदेखि मनाउन थालेको हो ।
युवाका मुद्दालाई सम्बोधन गर्न नेपालमा युवा विकास तथा परिचालनका लागि २०६५ मा सरकारले युवा तथा खेलकूद मन्त्रालय, राष्ट्रिय युवा नीति, २०७२ मा युवा विकासका व्यापक विषय वस्तुलाई नीतिगतरूपमा समावेश गरेको छ ।
सरकारले २०७२ मा युवा परिषद् गठन गर्दै युवाको नेतृत्व विकासमा काम गर्दै आइरहेको छ । नेपालमा कूल जनसख्याको ४०.३ प्रतिशत युवा रहेका छन् ।