काठमाडौं, १७ साउन – मेलम्चीमा गएराति फेरि बाढी आएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार बाढीले रेडियो मेलम्चीको भवन बगाएको र अन्य केही घरमा पनि क्षति पुर्याएको छ । तालामाराङको प्रहरी चौकी पनि बाढी पसेपछि विस्थापित भएको छ । बाढीले सिन्धुपाल्चोकको रातो पुल बगाएको छ । बाढीले आइतबार बिहान पुल पनि बगाएको हो ।
गत असार १ गते आएको बाढीमा यो पुल जोगिएको थियो । हेलम्बु गाउँपालिका–१ हेमाथांका चौरमा पहिरो गएर केहीबेर थुनिएपछि ठूलो बाढी आएको अनुमान गरिएको छ । चनौटे बजारको बीच भागबाटै बाढी बगेको छ । यसअघि असार १ गते आएको बाढीले पनि हेलम्बु र मेलम्ची लगायतमा ठूलो क्षति पुर्याएको थियो ।
सो बाढीका कारण ५ जनाको मृत्यु भएको थियो भने १५ जना अझै बेपत्ता छन् । बाढीपहिरो पीडितहरु विस्तारै सामान्य अवस्थामा फर्किंदै गर्दा गएराति फेरि बाढी आएपछि उनीहरु थप समस्यामा परेका छन् । यसअघिकै स्थानबाट अहिले पनि लेदो माटोसहितको बाढी बगेको स्थानीयले बताएका छन् ।
सिन्धुपाल्चोकमा विज्ञ टोली जाँदै
सिन्धुपाल्चोकमा पछिल्लो पटक आएको बाढीबारे अध्ययन गर्न विज्ञहरुको टोली त्यसतर्फ प्रस्थान गर्दैछ । खानी तथा भूगर्भ विभाग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन केन्द्रका अधिकारीहरुको टोली सिन्धुपाल्चोक जान लागेको हो ।
केन्द्रका कार्यकारी प्रमुख अनिल पोखरेलले भने, ‘अध्ययनका लागि विज्ञहरुको टोली सिन्धुपाल्चोक जाने अप्रुभ भइसक्यो । टोली आजै त्यसतर्फ प्रस्थान गर्छ ।’ गएराति मेलम्चीमा आएको बाढीले नौ वटा पक्की घर, आठ वटा कच्ची घर, एउटा झोलुंगे पुल र एउटा पक्की बगाएको छ ।
मानवीय क्षति नभए पनि अघिल्लो पटकको बाढीमा बचेका भौतिक संरचनाहरु गएरातिको बाढीमा बगेका छन् । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हेलम्बु क्षेत्रमा वषर हुने र त्यो सतर्कताको तहसम्म पुग्नसक्ने प्रक्षेपण गरेर त्यसअघि बुलेटिन जारी गरेको थियो । विभागको वर्षा मापन केन्द्रमा भने धेरै ठूलो पानी परेको रेकर्ड छैन ।
विभागका निर्देशक एवम् वरिष्ठ मौसमविद विक्रम श्रेष्ठका अनुसार गत चौबिस घण्टाको अवधिमा सेरमाथाङ भन्ने स्थानमा २०.८ मिलिमिटर र धाप भन्ने स्थानमा ३७.८ मिलिमिटर पानी परेको रेकर्ड छ । मुहान क्षेत्रतिर पहिरो गएको पनि देखिएको छ । तर जल तथा मौसम विज्ञान विभागमा नदी थुनिएरनथुनिएको जानकारी छैन ।
नाकोटे भन्ने स्थानमा जल सतह मापन गर्ने उपकरण थियो । गत असार १ गतेको बाढीले त्यो उपकरण बगाइदिएपछि अर्को उपकरण जडान गरिएको छैन । त्यसैले जलसतह घट९बढ भएको र कुन तहसम्म पुगेको छ भन्ने तथ्यांक विभागसँग छैन ।