झापा, १३ साउन । झापाको दमकमा चालकले मापसे (मादक पदार्थ सेवन) गरेर कुदाएको ट्रक दुर्घटना हुँदा मंगलबार राति श्रीमान–श्रीमतीको मृत्यु भएको छ। सुनसरीको इटहरीबाट झापाको सुरुंगातर्फ जाँदै गरेको प्र २–०३–०१३ प ४७८७ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको ना ४ ख ८७३० नम्बरको ट्रकले ठक्कर दिँदा दुर्घटना भएको हो।
इलाका प्रहरी कार्यालय दमकका डीएसपी नवराज कार्कीका अनुसार दुर्घटनामा मोटरसाइकल चालक झापाको कनकाई नगरपालिका–३ का ४३ वर्षीय पूर्णबहादुर विष्ट र उनकी श्रीमती ३६ वर्षीया भीमा विष्टको मृत्यु भएको छ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि लाइफलाइन अस्पताल दमक पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ। तीव्र गतिमा रहेको ट्रकले पूर्व–पश्चिम लोकमार्गअन्तर्गत दमक नगरपालिका–४ मा राति १०स्१० बजेतिर मोटरसाइकललाई ठक्कर दिएको कार्कीले बताए।
ठक्कर दिने ट्रक र चालक विराटनगर महानगरपालिका–४ का ४८ वर्षीय सुजन थापालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको उनको भनाइ छ। चालकले मापसे गरेर तीव्र गतिमा ट्रक कुदाएका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी डीएसपी कार्कीले दिए।