चितवन, १२ श्रावण ।
चितवनको माडीमा बालिका बलात्कार गरी फरार भएका एक युवक पक्राउ परेका छन् ।
सोमबार दिउँसो माडी नगरपालिका वडा नं. १ निवासी ११ बर्षीया बालिकालाई बलात्कार गरी फरार भएका भारत आसाम निवासी ३० बर्षीय कृष्ण बि.क. आज मंगलबार बिहान ८ बजे पक्राउ परेका हुन् ।
घटनाको करीब साढे चार घण्टापछि मात्रै प्रहरीलाई सो बारे जानकारी भएकोमा साँझदेखि रातभर खोजी अपरेशनमा परिचालन भएको माडी प्रहरीले अभियुक्तलाई लुकिछिपी भागिरहेको अवस्थामा भरतपुरस्थित चोकबजारबाट नियन्त्रणमा लिन सफल भएको हो । बलात्कृत बालिकालाई प्रहरीले राती नै मेडिकल चेकजाँच गराई संरक्षणमा राखेको छ र घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।
बलात्कारका अभियुक्त, नेपाली मूलका भारतीय नागरिक रहेका बि.क. विगत डेढ बर्षदेखि माडी—१ स्थित ससुराली घरमा बस्दै आएका थिए । पछिल्लो दुई सातादेखि उनी भरतपुर—माडी—ठोरी रुटको बसमा सह—चालकको काम गरिरहेको खुलेको छ ।