चितवन, २८ असार ।
चितवनको दुई जनामा कोरोना भाइरसको ‘डेल्टा भेरियन्ट’ फेला परेको छ । भरतपुर अस्पतालले परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ पठाएकामध्ये दुई नमुनामा नयाँ भरियन्ट पत्ता लागेको हो ।
सो अस्पतालका प्रयोगशालामा पोजेटिभ देखिएका पाँच नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाइएको थियो अस्पतालले आज एक विज्ञप्ति प्रकाशित गरी यसरी पठाइएका नमुनामध्ये दुई नमुनामा डेल्टा प्रमाणित भएको जनाएको छ ।
अस्पतालका कोभिड क्लिनिकल कोअर्डिनेटर डा.प्रमोद पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा यसरी पठाइएका नमूना भरतपुर महानगरपालिकाभित्रका भएको जनाइएको छ । कोरोनाको पहिलो लहरको अल्फा भेरियन्टभन्दा कोरोनाको डेल्टा भेरियन्ट बढी सङ्क्रामक रहेको विभिन्न अनुसन्धानले पुष्टि गरेको वरिष्ठ कन्सल्टेन्ट फिजिसियनसमेत रहेका उनले जानकारी दिए ।