काठमाण्डौ, २७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ) नेपालमा आयोजना गर्न खेल सम्बद्ध निकायहरुलाई निर्देशन दिनुभएको छ ।
नेपाल किर्गिजस्तान र बंगलादेशबीच गत चैतमा सम्पन्न त्रिदेशीय फुटबल प्रतियोगितामा सहभागी भएका नेपालको राष्ट्रिय फुटबल टोली सदस्यहरुलाई विशेष नगद पुरस्कारबाट सम्मानित गर्न आज बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिनुभएको हो ।
विगत लामो समय देखि आयोजन हुननसकेको दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ) आयोजना गर्ने पालो बंगलादेशको हो । गत वर्ष रोकिएको यो प्रतियोगिता यस वर्ष पनि कहिले हुने भन्ने टुंगो लागेको छैन ।
प्रधानमन्त्री ओलीले प्रतियोगिता नेपालले आयोजनागर्ने र त्यस सँगै नेपाली टिम पनि जित्ने मानसिकताका साथ उत्रिनुपर्ने बताउनुभएको थियो । खेल खेल्ने मात्र हैन जित्ने आत्मविश्वास खेलाडीमा हुनुपर्ने र त्यसका लागि निरन्तरको अभ्यास, व्यायाम र संयम आवश्यक रहेको धारणा प्रधानमन्त्रीको थियो ।
प्रधानमन्त्रीले विजय नेपाली टिमका क्याप्टेन किरण कुमार लिम्बु चेम्जोङ, रन्जित धिमाल , रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, त्रिदेव गुरुङ, सञ्जोग राई, रविशंकर पाशवान, तेज तामाङ, अन्जन विष्ट, अभिषेक रिजाल, विकेश कुथु, निशान खड्का, अजित भण्डारी, विराज महर्जनलाइ ४ लाख रुपैंया सहित सम्मानपत्र प्रदान गर्नुभयो ।
यस्तै छिरिङ गुरुङ, सुजल श्रेष्ठ, एरिक विष्ट विशाल राई, सुनिल बल, दर्शन गुरुङ, भरत खवास, दीप कार्कीलाई ४ लाख रुपैयाँको नगद पुरस्कार र प्रशिक्षकहरु बालगोपाल महर्जन, किरणश्रेष्ठ र विकास मल्ललाई दुई लाख रुपैयाँ नगदसहितको सम्मानपत्र प्रदान गरिएको छ ।