दारेचोक, २६ असार । चितवनको एकमात्र गाउँपालिका इच्छाकामनाले नागरिकको घरघरमा शुद्ध खानेपानीको धारा पुर्याउने अभियानलाई तीव्रताका साथ निरन्तर जारी राखेको छ। जस अनुसार गाउँपालिकाले आज मात्रै वडा नं. ३ स्थित तोक्दाङ–ढाप गाउँको घरघरमा धारा पुर्याएको छ।

गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले एक कार्यक्रमका बिच तोक्दाङ–ढाप खानेपानी आयोजनाको उद्घाटन गरी उक्त गाउँको घरघरमा शुद्ध खानेपानीको धारा पुगेको घोषणा गरेका छन्।

खानेपानी आयोजनाको उद्घाटन कार्यक्रमलाई सम्बोन्धन गर्दै गाउँपालिका अध्यक्ष गुरुङले ५ वर्ष भित्र गाउँपालिकाका हरेक घरमा शुद्ध खानेपानीको धारा पुर्याउने अभियानमा आफु निरन्तर लागिपरिरहेको बताए। ‘यो ४ वर्ष भित्रमा हामीले धेरै जसो नागरिकको घरमा शुद्ध खानेपानीको धारा पुर्याईसकेका छौं, बाँकी घरमा पनि यहि वर्ष भित्र पुर्याउने अभियानमा छौ’ –उनले भने।

गाउँपालिकाको करिब ३१ लाख रुपैयाँ र जनसहभागीताबाट ४ लाख ७१ हजार ७ सय ७६ रुपैयाँ गरि ३५ लाख रुपैयाँ ७१ हजार ७ सय ७६ रुपैयाँ उक्त खानेपानी आयोजना निर्माण भएको हो। उक्त आयोजनाबाट गाउँका ४६ घरधुरी लाभान्वित भएको आयोजना निर्माण समितका अध्यक्ष डिल बहादुर गुरुङले जानकारी दिए।

खानेपानी आयोजना उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कृतिकुमार श्रेष्ठ, प्रवक्ता सावित्री गुरुङ, वडा नं. ३ का वडाध्यक्ष गोवद्र्धन अधिकारी लगायतको सहभागीता रहेको थियो।