सर्लाही, १६ असार । सर्लाहीको लालबन्दी र इश्नरपुर नगरपालिका जोड्ने फुलजोर खोलामा निर्माणाधिन अवस्थामा रहेको पक्की पुल भांसिएको छ। लालबन्दी नगरपालिका ३ र इश्वरपुर नगरपालिका ८ को सिमाना रहेको फुलजोर खोलामा निर्माणाधिन अवस्थामा रहेको पक्की पुल मंगलबार रातिको बाढीका कारण भासिएको हो।
संघिय सरकारको रु १२ करोडको लागतमा आर्थिक वर्ष २०७५/०७६ बाट निर्माण शुरु भएको पक्की पुल ढलानको काम सकिएको थियो। ढलानको काम सकिएको र फर्मा निकाल्न बाँकी रहेको समयमा मंगलबार राती आएको बाढीका कारण करिब ४० मिटर पुल भासिएको छ। १२ करोडको लागतमा निर्माण हुने पुलको लम्बाई करिब २ सय मिटर रहेको ठेकेदार मनोज कुमार साहले बताए। पप्पु एण्ड शिवशंकर (जेभि)ले आर्थिक वर्ष २०७५/०७६ बाट निर्माण शुरु गरि चालु आवमा निर्माण सम्पन्न गर्न भन्दै ठेकका लिएको थियो।

पुल निर्माणको करिब ८० प्रतिशत काम सकिएको र बाँकी काम यहि महिना भित्रमा सकाउने तयारीमा रहेको ठेकेदार कम्पनीले करिब ४० मिटर पुल भासिदाँ करिब २ करोड घाटा लागेको बताएको छ । सो पुल निर्माणको शुरुको वर्षमा पनि एक पटक बाढीले भत्काएको थियो।
स्थानियका अनुसार ठेकेदारले गुणस्तरहिन काम गरेका कारण निर्माणाधिन अवस्थामा रहेको पक्की पुल पटक पटक भत्कीएको हो। यस अघि २०७६ सालमा पनि पुल सामान्य बाढीका कारण भत्कीएको र अहिले पनि सामान्य बाढीका कारण भत्कीनु ठेकेदारले गुणस्तरहिन काम गरेको भन्न सकिने स्थानिय रामकैलाश चौधरीले बताए।

निर्माण कार्यमा ठेकेदारको कमि कमजोरी र असारमा पनि निर्माणको काम गर्दा पुल भासिएको स्थानिय धु्रव प्रसाद घिमिरेले बताए। उनका अनुसार असारमा पानी परि रहेको समयमा पनि ठेकेदारल निर्माण कार्य गरेका कारण सोचे अनुसारको काम नभएको हुँदा पुल भासिएको हो।
उक्त पुल निर्माण हुँदा लालबन्दी नगरपालिका ३ र ५ का साथै इश्वरपुर नगरपालिका ५ र ८ का स्थानियबासीलाई लालबन्दी बजार आउन जान सजह हुने आशा थियो तर पटक पटक पुल भासिँदा स्थानियबासी पनि चिन्तीत बनेका छन्। भने चालु आर्थिक वर्षमा निर्माण कार्य सकाउने दाउँमा रहेको ठेकेदार कम्पनी पनि अव ५÷६ महिना समय थप गर्नु पर्ने अवस्था सृजना भएको बताउन थालेको छ। जसका कारण पनि सो क्षेत्रका स्थानियबासी यस वर्ष पनि फुलजोर खोलाको बाढीमै हेलिएर लालबन्दी बजार आउन जान बाध्य भएका छन्।