सर्लाही, १४ असार । सर्लाहीको लालबन्दी नगरपालिका ६ मा ढलमाथी ढल निर्माण गरिरहेको रहस्य खुलेको छ । करिब २ वर्ष पहिला नै बनेको ढलमाथी फेरी १४ लाख खर्च गरेर ढल निर्माण गरिएको छ । २ वर्ष पहिला १० लाख खर्च गरेर निर्माण गरिएको ढललाई पुरेर फेरी १४ लाख खर्च गरेर ढल निर्माण गरिएको हो ।
लालबन्दी नगरपालिका ६ को उद्योग बाणिज्य संघ नजिकबाट पश्चीममा निर्माण गरिएको ढल पुरेर फेरी त्यसमाथी ढलान गरि ढल निर्माण गरिएको हो । वडा कार्यलयको रु १४ लाख रकमबाट निर्माण उपभोक्ता समिति मार्फत ढल पुरेर फेरी ढल निर्माण गरिएको हो ।
विगत २ वर्ष पहिला निमार्ण गरिएको ढल अहिले होचो भएकोले अहिले फेरी करिब सय मिटर ढल पुरी पुनः त्यसमाथी ढल निर्माण गरिएको लालबन्दी नगरपालिका ६ का वडा अध्यक्ष उज्वल कुमार कार्कीले जानकारी दिए। उनका अनुसार ढलको पानी बाहिर नजाँदा पानी जमेर लामखुट्टे लाग्ने गरेकोले यस वर्ष पनि लगानी गर्नु परेको हो ।
यता, लालबन्दी नगरपालिकाका इन्जिनियर रोशन पण्डीतका अनुसार पहिला बनाइएको ढल गहिरो भएका कारण उत्त ढलको पानी बाहिर जान नसकेकाले अहिले फेरी त्यसलाई पुरेर त्यसभन्दा माथीबाट ढल निर्माण गरिएको हो । यसरी विकास निर्माणको नाममा वर्षको अन्तिममा आएर बजेट सकाउने परम्परा फेरी दोहोरिदाँ सो क्षेत्रका स्थानिय चिन्तति बनेका छन् ।