काठमाण्डौ, ११ असार । नेपाली काँग्रेसको आसन्न महाधिवेशनमा सभापतिका आकांक्षी नेताहरु उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच आज भेटवार्ता भएको छ ।
तीन नेताबीच आज महाराजगञ्ज स्थित कोइराला निवासमा भएको भेटमा साझा धारणा बनाएर अगाडि बढ्ने निष्कर्ष निकालिएको छ । आफूहरू एकै ठाउँमा रहेको र संवाद निरन्तर चलिरहने बैठकपछि नेता प्रकाशमान सिंहले जानकारी दिनुभयो ।
समसामयिक राजनीतिक विषयका साथै आसन्न महाधिवेशनबारे गम्भीर रूपमा छलफल भएको र साझा धारणा बनाएर अगाडि बढ्ने सहमति भएको नेता सिंहले सीआईएनलाइ जानकारी दिनुभयो ।
काँग्रेस एक भएर जाने र आगामी चुनावमा कसरी बहुमत ल्याउने लगायतका विषयमा पनि छलफल भएको उहाँको भनाइ छ । १४ औं महाधिवेशनमा नेतृत्व परिवर्तनको बहस सुरू भएको बेला काँग्रेसका संस्थापक नेताहरू बीपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका पुत्र निरन्तर संवादमा जुटेका छन् ।