कुरिनटार, १० असार । चितवनको इच्छाकामना गाउँपालिका अध्यक्षलगायत जनप्रतिनिधिले नियमविपरीत दसैंँ खर्चसमेत लिएका छन् । गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, सदस्य तथा गाउँसभाका सदस्यहरु गरी ३८ जना पदाधिकारीले मासिक सुविधाबाहेक दसैँ खर्च भनी ४ लाख ९२ हजार ३० रूपैयाँ लिएको महालेखाको लेखापरीक्षणले देखाएको छ । अध्यक्ष गीता कुमारी गुरुङले रु ३० हजार उपाध्यक्ष कृतिकुमार श्रेष्ठले रु २५ हजार वडाध्यक्षहरुले २०/२० हजार र गाउँसभाका सदस्यहरुले ५/५ हजार लिएका छन।

यसैबिच स्थानीय निकाय स्रोत परिचालन निर्देशिकाविपरीत स्थानीय निकायको परिषद्बाट स्वीकृतिसमेत नलिई कार्यपालिका तथा सभाका सदस्यलाई १३ महिना तलब भनी १९ लाख ६३ हजार रूपैयाँ दिएको देखिन्छ । उक्त खर्च नियमसम्मत नभएको महालेखाले जनाएको छ ।

प्रतिवेदनअनुसार ऐनमा व्यवस्था नै नभएको अवस्थामा समेत गाउँपालिकाका पदाधिकारी तथा सदस्यले सुविधाबापत २१ लाख ७५ हजार रूपैयाँ लिएका छन् । सोमध्ये बैठक भत्तामा मात्रै ७ लाख ७५ हजार ५०० रूपैयाँ खर्च भएको छ ।
