काठमाडौं,२९ जेठ । फिफा विश्वकप–२०२२ तथा एसियन कप–२०२३ अन्तर्गत दोस्रो चरणको छनोटको अन्तिम खेलमा नेपाल पराजित भएको छ ।कुवेतमा शुक्रबार राति भएको खेलमा नेपाल अष्ट्रेलियासँग पराजित भएको हो । १० खेलाडीमा समेटिएको नेपाल बलियो टोली अष्ट्रेलियासँग ३–० गोल अन्तरले पराजित भएको हो ।
कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा अष्ट्रेलियालाई जित दिलाउन म्याथ्यु लेकी, फ्रान करासिक र मार्टिन बोयलले एक एक गोल गरे । खेलको छैटौं मिनेटमा लेकीले हेडरमार्फत गोल गर्दै अष्ट्रेलियालाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ३८ औं मिनेटमा फ्रानले गोल गर्दै अष्ट्रेलियालाई २–० को अग्रता दिलाएका थिए ।
खेलको ४५औं मिनेटमा नेपालका डिफेन्डर रोहित चन्द रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि नेपाल १० खेलाडीमा समेटियो । अष्ट्रेलियाका मार्टिनलाई फउल गरेपछि ओमानी रेफ्री अहमेदले रोहितलाई रातो कार्ड देखाएका थिए । त्यसपछि खेलको ५७ औं मिनेटमा मार्टिनले गोल गर्दै अष्ट्रेलियालाई ३–० को जित दिलाए ।