काठमाण्डौ, २१ जेठ । मन्त्रीपरिषदको बैठकले मेलम्ची खानेपानी वितरण गर्दा भएको चुहावट टाल्नका लागि १३ करोड रुपैयाँ निकासा गर्ने निर्णय गरेको छ । हालै बसेको मन्त्रीपरिषदको बैठकले खानेपानी मन्त्रालयको प्रस्तावमा मेलम्ची खानेपानी आयोजनाको पानी चुहावट नियन्त्रणका लागि १३ करोड रुपैयाँ निकासा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता मन्त्री पार्वत गुरुङले आज जानकारी दिनुभयो ।
यस्तै चिन सरकारले दिन लागेको ३ हजार ५ सय थान अक्सिजन सिलिन्डर र १० थान भेन्टिलेटर स्वीकार गर्ने गर्ने निर्णय पनि सरकारले गरेको छ । मन्त्रिपरिषद बैठकले नेपालको स्वास्थ्य क्षेत्र सुधार आयोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने ५० मिलियन अमेरिकी डलर सहुलियतको ऋण स्वीकार गर्ने निर्णय गरेको छ ।
सगरमाथा लगायतका हिमाल सफाइका लागि नेपाली सेनालाई हिमाल आरोहण गर्दा लाग्ने सलामी दस्तुर छुटको व्यवस्था गरिएको छ । वन पैदावार विकास समितिको कार्यकारी निर्देशकमा दीपा दहाललाई नियुक्त गर्ने निर्णय गरेको छ । कोभिड संकट व्यवस्थापन केन्द्रको निर्देशकमा बालानन्द शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ ।
यस्तै सरकारले जर्मनीको बोनस्थित नेपाली दूतावासको घरजग्गा बिक्री गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिनुभयो । बैठकले परराष्ट्र मन्त्रालयको सिफारिसमा राजदूत नियुक्ति सम्बन्धी कार्यविधि संशोधन गर्ने निर्णय समेत बैठकले गरेको छ ।
२०७५ सालमा ल्याइएको सो कार्यविधि अनुसार राजदूत नियुक्ति गर्दा परराष्ट्र सेवाबाट कम्तिमा ५० प्रतिशत पर्नेगरी नियुक्त गर्नुपर्ने प्रावधानलाई हटाइएको छ । सरकारले हरेक वर्ष पुस ११ गते जेष्ठ नागरिक दिवस मनाउने निर्णय पनि गरेको छ । सगरमाथा संवाद कार्यक्रम आयोजना गर्ने निर्णय गरिएको पनि सरकारका प्रवक्ता मन्त्री पार्वत गुरुङले जानकारी दिनुभयो ।
भारतसँग मल खरिदबारे छलफलका लागि स्वीकृत दिने निर्णय भएको छ भने गृहमन्त्रालयको सिफारिसमा नेपाल नागरिकता दोश्रो संसोधन नियमावली २०७८ स्वीकृत गर्ने निर्णय पनि भएको छ ।