आँबुखैरेनी, १७ जेठ । यहि जेठ २८ गते विद्यार्थीहरुको परीक्षाको नतिजा प्रकाशन गर्न तनहुँको आँबुखैरेनी गाउँपालिकाले गाउँपालिका भित्रका विद्यालयहरुलाई निर्देशन दिएको छ। गाउँपालिकाले आज एक सूचना जारी गर्दै गत शैक्षिक सत्रको नतिजा विद्यालयको आवधिक मुल्याङ्कन र आन्तरिक मूल्याङ्कनबाट जेठ २८ गते भित्र नतिजा प्रकाशन गर्न निर्देशन दिएको हो।
सूचना अनुसार विद्यालयले बाल विकाश, नर्सरी, केजी, कक्षा १ देखि ९ सम्म (कक्षा ८ बाहेक) विद्यालयको आवधिक मुल्याङ्कन ६० प्रतिशत र आन्तरिक मूल्याङ्कनबाट ४० प्रतिशत गरि जम्मा १०० प्रतिशत हुने गरी नतिजा प्रकाशन गर्नुपर्ने छ।

यस्तै कक्षा ८ को हकमा विद्यालयको आवधिक मुल्याङ्कन ६० प्रतिशत र आन्तरिक मूल्याङ्कनबाट ४० प्रतिशत गरि जम्मा १०० प्रतिशत हुने गरी जेठ २३ गतेसम्म नतिजा गाउँपालिकामा पठाईसक्नुपर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले जानकारी दिनुभयो। उहाँका अनुसार असार १ गते बाट बैकल्पिक माध्यमबाट नयाँ शैक्षिक सत्र सुरु हुनेछ।