काठमाण्डौ, १७ जेठ । चिनिया राष्ट्रपति सी जिनफिङले घोषणा गरेको सहयोगको खोप लिन नेपाल वायु सेवा निगमको जहाज आज बेइजिङ जाने भएको छ । निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले चीनले दिन लागेको खोप लिन विमान आज बेइजिङ जान लागेको सीआईएनसँग बताउनुभयो ।
तौल बढी नभएको अवस्थामा ८ लाख डोज खोप ल्याउने तयारी भइरहेको उहाँको भनाइ छ । आज राति ११ बजे बेइजिङको लागि उड्ने जहाज भोलि दिउँसो साढे २ बजे खोप लिएर फर्किने छ ।
गत बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँगको टेलिफोन कुराकानीमा चिनियाँ राष्ट्रपति सीले नेपाललाई १० लाख डोज खोप अनुदानमा दिने घोषणा गर्नुभएको थियो ।