देवघाट, १५ जेठ । तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ भित्र पर्ने नेपालकै एक पर्यटकीय स्थल देवघाटधाम विश्व महामारीको रूपमा फैलिएको कोभिड १९ भाइरसको कारण सुनसान छ। यसको प्रभावले जनस्तरमा मात्र नभई पशुपंक्षीमा पनि प्रभाव परेको देखिन्छ। मानिसहरुको आवतजावतमा कडाइ गरेपछि यसको प्रभाव बाँदरहरुमा पनि देखिन थालेको छ।

यहि देखेर ब्लड डोनर्स सोसाइटी नेपालले देवघाटका भोका बाँदरहरुलाई फलफुल खुवाएका छन्। सोसाईटीका अध्यक्ष तथा कार्यक्रम संयोजक अर्जुन अधिकारीले कोरोना भाईरस महामारी लकडाउनको प्रभावमा परी दैनिक ज्यालादारी मजदुर गरेर आफ्नो जीवन गुजारा गर्ने व्यक्तीहरुलाई मात्र नभई पशुपंक्षीहरुलाई पनि मध्य नजर गर्दै आज देवघाटको गलेश्वर चोक, देवघाट शिवालय मन्दिर आसपासमा रहेको भोका बादरहरुलाई फलफुल खुवाएको बताउनुभयो। साथै उहाँले आज अभियानको ९ दिन सम्म आइपुग्दा तनहुँ, चितवन र नवलपुर जिल्ला गरि करिब ७ सय बेबारिसे मानिसहरुलाई खाना खुवाएको र करिब ६० घरधुरी आर्थिक अवस्था कमजोर भएको परिवारलाई राहत समेत उपलब्ध गराएको बताउनुभयो।

यसैबिच देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाले पहिला दैनिक मठमन्दिरहरुमा पूजापाठ गर्न आउने तिर्थालुभक्तजनहरुले ल्याउने फलफूल तथा अन्य खानेकुरा खाएर आफ्नो पेटभर्ने बाँदर यतिबेला निषेधाज्ञाले गर्दा खानेकुराको अभाव झेली रहेको अबस्थामा यसलाई मध्यनजर गर्दै ब्लड डोनर्स सोसाइटी नेपाल करिब ३ सय भोका बादारहरुलाई फलफुल खुवाउन सफल भएकोमा खुशी व्यक्त गर्दै संस्थालाई धन्यवाद दिनुभयो। साथै अध्यक्ष थापाले आगामी दिनहरुमा अझै विभिन्न संघसंस्थाहरु संग समन्वय गरि बाँदर व्यवस्थापन गर्ने र बादर संरक्षणको लागि ‘बादर पार्क’ बनाउने विषयमा प्रदेश र केन्द्र सरकार सँग कुरा भइरहेको बताउनुभयो।

यस्तै देवघाट क्षेत्र बिकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले देवघाटमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमनमा शुन्य भएपछि बाँदरको आहारबिहारमा पनि समस्या देखिएन थालेको बताउदै तत्काल क्षेत्र बिकास समितिका बैंठक बसि बाँदरको आहारबिहार ब्यवस्थापन गर्ने उहाँले बताउनुभयो। साथै उहाँले बादर लगाएत अन्य पशुपंक्षीको बाच्न पाउने अधिकार हो भने यसको संरक्षण गर्ने हामी सवैको दायित्व रहेको बताउदै हाल बादरहरुको संख्या चितवन र तनहुँको देवघाट तर्फ गरि अन्दाजी २ हजार देखी २५ सय सम्म बादर रहेको निर्देशक घिमिरे बताउनुभयो।