चितवन। पूर्वी चितवनको रत्ननगरमा पालिएका पशु चौपायमा रेविजको सङ्क्रमण देखिएको छ । नगर क्षेत्रका पशुमा रेविजको लक्षण देखिएको हो । रत्ननगर –९ र १० को नमूनामा रोगको सङ्क्रमण पुष्टि भएको छ ।
रत्ननगर नगरपालिकाकी पशु चिकित्सक अनुस्का राजभण्डारीका अनुसार पालिकाका विभिन्न वडामा पालिएका पशुमा यो रोगको सङ्क्रमण देखिएको छ । यहाँका पशुहरुको नमूना सङ्कलन गरी परीक्षणका लागि केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला काठमाडौँ पठाइएको छ । रोगको सङ्क्रमण देखिए पछि सङ्क्रमित क्षेत्रमा उच्च सतर्कता अपनाइएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार यस आर्थिक वर्षमा सो पालिकामा चार वटा नमूना सङ्कलन गरिएको छ ।
दुई वटा नमूनाको परिक्षणका लागि पठाउने तयारी गरिएको छ । दुई वटामा सङ्क्रमणको पुष्टि भइसकेको छ । पशु मरेपछि नमूना परीक्षणका लागि पठाउने गरिन्छ । सङ्क्रमणको लक्ष्याण देखिएका नौदेखि १० दिनको बीचमा पशु मर्ने गरेको उहाँले जानकारी दिनुभयो । यस पालिकाको वडा नम्बर ९, १० र १६ मा रेविजको सङ्क्रमण देखिएको हो । यस क्षेत्रमा न्याउरी मुसा र स्यालको टोकाइले रेविज सरेको उहाँको अनुमान छ । रेविजको सङ्क्रमण देखिएका क्षेत्रमा रहेका पशु तथा मानिसहरुमा रेविजविरुद्धको सुई दिन थालिएको उहाँले जानकारी दिनुभयो ।
कुकुर र जङ्गली जनावरको टोकाइबाट सर्ने यस रोग जङ्गलको आसपासमा रहेका कृषकहरुलाई सतर्कता अपनाउन र लक्ष्यण देखिए तत्काल खबर गर्न अनुरोध गरिएको उहाँले वताउनुभयो । जनावरले टोकेको वा चिथोरेको ठाउँमा तुरुन्तै १५ मिनेटसम्म साबुन र बगिरहेको सफा पानीले राम्ररी धुने, चिकित्सकको सल्लाहअनुसार तुरुन्तै र तोकिएको तालिकाअनुसार रेविजविरुद्धको खोप लगाउने, घरपालुवा कुकुर र बिरालालाई नियमित रूपमा प्रत्येक वर्ष रेविजविरुद्धको खोप लगाउने, शङ्कास्पद वा अनौठो व्यवहार देखाएका पशुहरूलाई अन्य जनावर र मानिसबाट टाढा सुरक्षित ठाउँमा थुनेर राख्ने गर्नुपर्ने उहाँले सुझाब दिनुभयो । रासस