काठमाण्डौ, १४ जेठ । माध्यमिक शिक्षा परीक्षा (एसईई) तथा कक्षा १२ को परीक्षाको स्वरुप कस्तो रहने भन्ने बारेमा अध्ययन गर्न गठित कार्यदलले प्रतिवेदन सरकारलाई बुझाएको छ । कोरोना भाइरस सङ्क्रमणको अवस्थामा परीक्षाका विभिन्न विकल्प सुझाउँदै कार्यदलले राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेललाई प्रतिवेदन हिजो बुझाएको हो ।
कार्यदलले सरोकारवालासँग छलफल गरी आफ्नो प्रतिवेदन बुझाएको जानकारी अध्यक्ष पौडेलले दिनुभयो । अब प्रतिवेदनउपर बोर्डको बैठकमा छलफल गरी सरकारसँग आवश्यक परामर्श गरी निर्णय गरिने जानकारी उहाँले दिनुभयो । कार्यदललाई सरोकारवालाले एसईईको परीक्षा विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा गर्नुपर्ने र कक्षा १२ को भने अन्तर्राष्ट्रिय मान्यतासमेत भएकोले परीक्षा लिनुपर्ने सुझाव दिएको जनाइएको छ ।
सङ्क्रमणको अवस्थामा विदेशका बोर्डहरूले गरेको अभ्यास र निर्णयलाई आधार मानेर प्रतिवेदन सिफारिस गरिएको छ ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छिट्टै नै परीक्षाको विकल्पका बारेमा टुङ्गो लगाइने जनाएको छ । मन्त्रालयका प्रवक्ता दीपक शर्माले कार्यदलले प्रतिवदेन बुझाएको अवस्थामा अब निर्णय हुन धेरै दिन नलाग्ने बताउनुभयो ।