भुम्लिचोक, १४ असोज । गतहप्ताको भीषण बर्षापछिको त्रिशुलीको भेलले गोरखाको हिक्लुङघाटको पुललाई छ घण्टासम्म झाँटेको छ । गण्डकी गाउँपालिका ६ हिक्लुङघाटको हालै निर्माण सम्पन्न भएको झोलुङ्गे पुल लगातारको झँटाइपछि जीणर् बनेको स्थानीयबासीको गुनासो छ ।
‘दिउसो एकबजेतिरबाट पुललाई त्रिशुलीको बाढीले भेटेको हो । सातबजेसम्म बेस्सरी झड्काउँदै हल्लाई रह्यो’, सोही ठाउँ निबासी भीमलाल चेपाङ भन्छन्, ‘अहिले त पुल वल्लो जीपतिरको भाग एकातिर ढल्किएको छ, पल्लो जीपतिरको भाग अर्कोतिर ढल्केको छ ।’ पुल ढल्किएपछि स्थानीय चेपाङ समुदाय त्रिशुली वारपार गर्न डराउने गरेका छन् ।
‘पुलमुनि नजिकैसम्म त्रिशुली आएको छ । अनि पुल पनि दुई जीप दुईतिर बेस्सरी नै ढल्किएको छ’, चेपाङ भन्छन्, ‘छ घण्टासम्म भेलले हल्लाउँदा पार्टपुर्जा पनि पक्कै बिग्रिएको छ । त्यसैले स्थानीयबासी पुल तर्न पनि साह्रै डराउँछन् ।’ पुल बनेपछि तुइन पनि भत्काइएको र यहाँबाट अर्को पुल भएको ठाउँमा पुग्न पनि धेरै टाढा पर्ने भएकाले स्थानीयबासी समस्यामा रहेको उनले बताए ।
त्रिशुलीको भेलले पुलको जालीभित्र झ्याँसम्यास थुपारेको छ ।
सो पुल स्थानीय पूर्वाधार विकास तथा कृषि सडक बिभाग, सस्पेन्सन बृज डिभिजन कार्यालयले निर्माण गरेको थियो । देशभरका तुइन बिस्थापित गर्ने प्रधानमन्त्री केपी शर्मा वलीको प्रतिवद्धता कार्यान्वयनको क्रममा गत २०७४ सालमा तुइन हटाएर सो पुल निर्माण गरिएको थियो ।
दरौदी दैनिकबाट