कोरोना भाइरसको उत्पतिबारे अमेरिका र चीनबीच फेरि तनाव उत्पन्न भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले इन्टेलिजेन्स एजेन्सीहरुलाई ९० दिनभित्र कोरोना भाइरसको उत्पति कहाँबाट भएको हो भनेर पत्ता लगाउन निर्देशन दिनुभएको छ ।
यसअघि मंगलवार अमेरिकी स्वास्थ्य मन्त्री जेवियर बेसेराले विश्व स्वास्थ्य संगठनको स्वास्थ्य सभामा कोरोना भाइरसको उत्पति कहाँबाट भएको हो भनेर पारदर्शी जाँचका लागि संगठनलाई आग्रह गर्नुभएको थियो । कोरोना भाइरसको महामारी फैलिएको झन्डै डेढ वर्ष बितिसक्दा पनि यसको उत्पतिबारे कुनै ठोस प्रमाण फेला पर्न सकेको छैन ।
कोरोनाको पहिलो केस भने २०१९ को डिसेम्बर ३१ मा चीनको वुहान सहरमा फेला परेको थियो । हालै मात्रअमेरिकाको पत्रिकामा सार्वजनिक खबरका अनुसार केहि यस्ता तथ्य फेला परेका छन् जसले कोरोनाको उत्पति वुहानको ल्याबमा बनाईएको दावी गरिएको छ ।
अमेरिकाको वाल स्ट्रीट जर्नलमा अमेरिकी इन्टेलिजेन्स रिपोर्टलाई आधार मान्दै दावी गरेको छ की, कोरोना फैलिनु अगावै वुहान ल्याबका तीन जना कर्मचारी कोरोनासँग मिल्दोजुल्दो लक्षणका कारण बिरामी भएर अस्पताल भर्ना भएका थिए ।
तर, चीनले उक्त खबरलाई गलत भन्दै आरोप लगाएको छ की, अमेरिकाकै ल्याबबाट कोरोनाको उत्पति भएको छ । चीनको विदेश मन्त्रालयका प्रवक्ता चाओ लिजियानले कोरोना भाइरस अमेरिकाकै कुनै ल्याबमा विकास गरिएको र अमेरिकाले नै गलत हल्ला फैलाउने काम गरेर आफू जोगिन खोजेको आरोप लगाएका छन् ।