चितवन, १३ जेठ । पश्चिमी बङ्गालको खाडीमा विकसित जलवायु र ‘यास चक्रवात’को प्रभाव नेपालमा पनि देखिएकाले आवश्यक सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ । गृह मन्त्रालय मातहतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सूचना जारी गर्दै अबको ३ दिन बाढी पहिरो र उच्च वर्षाको सम्भावना रहेकोले बाढी पहिरोको सम्भावित जोखिम क्षेत्रका बस्तीलाई तत्काल सुरक्षित स्थानमा सार्न सरोकारवाला निकायसँग आग्रह गरेको छ ।
आजदेखि पर्सिसम्म कर्णाली र सुदूरपश्चिम बाहेक सबै प्रदेशमा उच्च वर्षा र बाढी पहिरोको जोखिम रहेकोले प्राधिकरणले हिमाल आरोहणमा गएका पर्वतारोहीलाई समेत तत्काल फिर्ता बोलाउन सरोकारवाला निकायलाई आग्रह गरेको छ । बाढीपहिरोको जोखिम रहेको तटीय क्षेत्र एवं सम्भावित जोखिम क्षेत्रको बस्तीलाई सुरक्षित स्थानमा सार्न भनिएको छ ।
कर्णाली र सुदूरपश्चिममा भने मध्यम वर्षाको आकलन गरिएको उल्लेख गर्दै प्राधिकरणले आसपासको ठाउँमा बाढी पहिरो डुबान, कटान आदि जोखिमयुक्त अवस्था देखिएमा विपद् व्यवस्थापन समितिवा सुरक्षा निकाय वा पालिकामा खबर गर्न आग्रह गरेको छ ।