भारतमा आएको चक्रवाती आँधी ‘यास’का कारण ओडिशा र पश्चिम बंगाल राज्यका ३० लाखभन्दा बढी मानिसहरु प्रभावित भएका छन् । आज बिहान उत्तरी ओडिशाको समुद्र तट र नजिकै रहेको पश्चिम बंगालको केही भागमा ‘यास’ सडकमा ठोक्किदा ५० हजारभन्दा बढी घर डुबानमा परेको छ ।
१ सय ३० देखि २ सय ४० किलोमीटर प्रति घन्टामा चलेको हावाको गतिले लाखौं मानिसहरु प्रभावित बनेका छन् । आँधीका कारण पश्चिम बंगालमा नदिहरुको बाँध फुट्दा २० हजार घरहरु डुबानमा परेर नष्ट भएको छ । समुद्रमा ३० फीटलामो छालका कारण पश्चिम बंगालको दीघा शहर पूर्ण रुपले डुबानमा परेको छ ।
पश्चिम बंगालका मुख्यमन्त्री ममता बनर्जीले पूर्व मेदिनीपुर बाहेक उत्तर र दक्षिण २४–परगना जिल्लाका नदीहरुको बाँध फुट्दा सैयौं गाउँहरु डुबानमा परेको बताउनुभयो । भारी वर्षासँगै आएको आँधीका कारण १५ लाख नागरिकलाई सुरक्षित स्थानमा सारिएको पनि उहाँले जानकारी दिनुभयो । यता ‘यास’ आँधीका कारण झारखण्डमा उच्च सतर्कता अपनाउन एलर्ट गरिएको छ ।