चितवन, २७ बैशाख । कोरोना भाईरसको दोस्रो भेरियन्टको संक्रमण बढ्दै जादा बजारमा अक्सिजन सिलिण्डरको अभाव हुदै जान थालेको छ। जसका कारण भोलीको दिनमा संक्रमित बढ्दै जादा अक्सिजनको अभाव नहोस् भन्नका लागि अक्सिजन सिलिण्डर व्यवस्थापनमा चितवनको इच्छाकामना गाउँपालिका लागिपरेको छ।
पछिल्लो समय गाउँपालिकाले अक्सिजन सिलिण्डरको व्यवस्थापनका लागि विभिन्न संघ संस्थाहरुसँग अनुरोध गरेको छ। जस अनुसार आज मात्रै गाउँपालिकालाई चितवन अटो मेकानिकल व्यवसायी संघले पछि फिर्ता गर्ने गरि १० वटा खाली अक्सिजन सिलिण्डर उपलब्ध गराएको छ। आपतकालीन अवस्था भर प्रयोग गर्ने गरि संघले अक्सिजन सिलिण्डर उपलब्ध गराएको गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले जानकारी दिनुभयो।
संघका अध्यक्ष प्रेम पाण्डे सहितको पदाधिकारीले गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङलाई उक्त सिलिण्डर हस्तान्तरण गर्नुभएको थियो। यस्तै उक्त खाली सिलिण्डरमा आजै अक्सिजन भरेर गाउँपालिकाको आईसोलेशन सेन्टरमा ल्याईसकेको अध्यक्ष गुरुङले बताउनुभयो।
यो सँगै इच्छाकामना गाउँपालिकामा साना ठुला गरि १७ वटा अक्सिजन सिलिण्डरको व्यवस्था भएको छ भने थप १० वटा अक्सिजन सिलिण्डर व्यवस्थाको लागि जिल्ला प्रशासन कार्यालयमा माग गर्दै सिफारिस गरिएको गाउँपालिकाले जानकारी दिएको छ।