इटालियन सिरी ‘ए’ फुटबलमा एसी मिलानले सहज जित निकालेको छ । गयराति भएको खेलमा मिलानले युभेन्ट्सलाई ३–० गोल अन्तरले पराजित गर्दै जित पारेको हो ।युभेन्ट्सको मैदानमा मिलानलाई जित दिलाउन ब्राहिम डियाज, एन्ट रेबिक र फिकायो टोमोरीले एक एक गोल गर्नुभयो ।
पहिलो हाफको इन्जुरी समयमा डियाजले गोल गर्दै मिलानलाई अग्रता दिलाउनुभएको थियो । खेलको ७८ औं मिनेटमा रेबिकले गोल गर्दै मिलानलाई २–० को अग्रता दिलाउनुभयो ।
त्यसपछि खेलको ८२ औं मिनेटमा टोमोरीले गोल गर्दै मिलानलाई ३–० को जित दिलाउनुभयो । जितसँगै मिलान लिगको तेस्रो स्थानमा उक्लिएको छ । मिलानले ३५ खेलमा ७२ अङ्क जोडेको छ । युभेन्ट्स लिगको पाँचौं स्थानमा रहेको छ । युभेन्ट्सले ३५ खेलमा ६९ अङ्क जोडेको छ ।